Wednesday, 18th November, 2026
वि.स.

चापाकोटमा बनेका ठेकी विदेश निर्यात

Contract-making-PP-1794896314.jpg

प्लास्टिकजन्य सामग्री र धातुका भाँडाको बजार बढ्दै गएको समयमा स्याङ्जाको चापाकोटमा पुस्तौंदेखि बनाइँदै आएको काठे ठेकी विदेश निर्यात हुन थालेको छ । गाउँघरमा वर्षौंदेखि दही–मोही राख्न अनिवार्यजस्तै मानिएको ठेकी पछिल्लो समय जिल्लाबाहिरको बजार हुँदै विदेशसम्म पुग्न थालेको हो । चापाकोट नगरपालिका–९ बैडीका लिलबहादुर चुँदारा ५२ वर्षदेखि काठका भाँडा बनाउँदै आएका छन् ।

बाउबाजेले गर्दै आएको पुख्र्यौली पेसा र सीपलाई निरन्तरता दिँदै आएका उनले ठेकीसँगै ठेको, गौवा, ढेउवा, मानो र मदानीलगायत सामग्री बनाउँदै आएका छन् । चापाकोटमा बनेका ठेकी लामो समय आसपासका गाउँ र बजारमा सीमित थिए । पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट प्रचार हुन थालेपछि यसको बजार पनि विस्तार हुँदै गएको छ । हङकङ, सिंगापुर, बेलायत, क्यानडा र अमेरिकालगायत देश जाने नेपालीले ठेकी खरिद गरेर लैजान थालेका छन् । विदेशमा रहेका आफन्तका लागि गाउँबाट ठेकी पठाउने र आफैं विदेश जाँदा बोकेर लैजाने क्रम बढेको चुँदारा बताउँछन् ।

‘गाउँघरमा मौलिक सामानको लोकप्रियता बढेसँगै खरिदबिक्री पनि बढेको छ । विदेश जाने छिमेकीले ठेकीमा राखिएको दही र मोही राम्रो हुने भन्दै लैजानुहुन्छ,’ उनले भने, ‘हालै पनि दुई–चारवटा बनाएर राखिदिनुहोस् भन्दै माग आइरहेको छ ।’ एउटा ठेकीको मूल्य पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म पर्ने गरेको उनले बताए । ठेकीको आकार, बनोट र प्रयोग हुने काठअनुसार मूल्य फरक हुने चुँदाराले जानकारी दिए । लामो समयदेखि काठका सामग्री बनाउँदै आएका चुँदाराका लागि प्रविधिको विकासले काम गर्ने तरिकामा परिवर्तन ल्याएको छ ।

परम्परागत घरेलु औजारको सहयोगबाट काठका सामग्री बनाउँदै आएका उनले पछिल्लो समय विद्युतीय उपकरणसमेत प्रयोग गर्न थालेका छन् । काठ काट्नेदेखि आकार दिने र अन्तिम रूप दिनेसम्म प्रविधिको प्रयोगले काम पहिलेको तुलनामा सहज भएको उनको अनुभव छ । प्रविधिको विकाससँगै सिप जोगाउने जनशक्ति भने घट्दै गएकोमा उनले चिन्ता व्यक्त गरे । युवापुस्तामा विदेश जाने क्रम बढेसँगै काठका भाँडाकुँडा बनाउने काम सिक्ने र यसलाई पेसा बनाउनेको संख्या घटेको चुँदारा बताउँछन् ।

तत्काल आम्दानी नहुने भएकाले नयाँ पुस्ता काठका सामग्री बनाउने पेसातर्फ आकर्षित हुन नसकेको उनको बुझाइ छ । नयाँ पुस्तालाई तत्कालै नगद चाहिने तर परम्परागत पेसामा निरन्तर मेहनत गरेपछि मात्रै आम्दानी हुने उनले बताए । उनको अनुभवमा परम्परागत सिपबाट तयार भएका सामग्रीको बजारमा माग भने घटेको छैन । स्याङ्जाका विभिन्न ठाउँका साथै पाल्पा, गुल्मी र बुटवलसम्मका ग्राहक ठेकी किन्न चापाकोट आउने गरेका छन् । अधिकांश ग्राहक घरमै आएर सामग्री खरिद गर्छन् भने कतिपयले फोनमार्फत अर्डर दिने गरेका छन् ।

काठको ठेकीमा राखिएको दही र मोहीको स्वाद तथा गुणस्तर राम्रो हुने भएकाले यसको प्रयोग अझै कायम रहेको स्थानीय आनन्द भण्डारीले बताए । ‘काठबाट बनेका सामग्रीमा दही र मोही राम्रो हुन्छ । लामो समयसम्म मोही राख्न पनि पाइन्छ । अन्य धातुका भाँडामा राख्दा त्यति राम्रो हुँदैन,’ उनले भने, ‘सकेसम्म प्लास्टिक प्रयोग नगरेकै राम्रो । काठकै ठेकी उपयुक्त हुन्छ ।’ गाउँघरमा दही, मोही र घिउ राख्न ठेकी प्रयोग गर्ने चलन रहेकाले काठका भाँडाको माग कायम रहेको स्थानीय
बताउँछन् ।

प्लास्टिकका भाँडाकुँडा तुलनात्मक रूपमा सस्ता र सहजै उपलब्ध भए पनि मौलिक काठे सामग्रीप्रतिको आकर्षण पछिल्लो समय फेरि बढेको उनीहरूको अनुभव छ । चुँदारा समुदायले पुस्तौंदेखि जोगाउँदै आएको काठका भाँडाकुँडा बनाउने सिप अहिले बजारसँग जोडिन थाले पनि यसको संरक्षण चुनौतीपूर्ण छ । माग बढे पनि सिप हस्तान्तरण गर्ने पुस्ता घट्दै जाँदा परम्परागत ज्ञान हराउने जोखिम कायमै छ । युवापुस्तालाई सिप सिकाउने, उत्पादनमा आधुनिक प्रविधिको प्रयोग बढाउने र बजार विस्तार गर्न सके परम्परागत पेसालाई आयआर्जनसँग जोड्न सकिने देखिन्छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०