Wednesday, 18th November, 2026
वि.स.

मलेसियामा नेपाली श्रमिकको पासपोर्ट रोक्न नपाइने, कम्पनीले पासपोर्ट फिर्ता नदिएमा दूतावासमा उजुरी गर्न आग्रह

malysia-(1)-1794894950.jpg

मलेसियामा कार्यरत नेपाली श्रमिकको राहदानी (पासपोर्ट) रोजगारदाता कम्पनीले जबर्जस्ती आफ्नो नियन्त्रणमा राख्न नपाउने भन्दै नेपाली राजदूतावासले पासपोर्ट फिर्ता नपाएका श्रमिकलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ ।

दूतावासले साप्ताहिक फेसबुक लाइभमार्फत रोजगारदाता कम्पनीले श्रमिकको पासपोर्ट रोक्न नपाउने स्पष्ट पार्दै यस्तो समस्या भोगिरहेका नेपाली श्रमिकलाई दूतावासको सम्पर्कमा आउन अनुरोध गरेको हो ।

दूतावासका अधिकारीहरूले कम्पनीले पासपोर्ट फिर्ता नदिएमा श्रमिकले आफ्नो विवरणसहित आधिकारिक फोन, इमेल वा ह्वाट्सएपमार्फत उजुरी गर्न सक्ने जानकारी दिएका छन् । प्राप्त उजुरीका आधारमा सम्बन्धित रोजगारदाता कम्पनीसँग समन्वय गरी पासपोर्ट फिर्ता गराउन पहल गरिने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यसअघि पनि श्रमिकको पासपोर्ट फिर्ता गर्न अटेर गर्ने कम्पनीहरूलाई पत्राचार गरिएको थियो । तर, कतिपय कम्पनीले अझै पासपोर्ट फिर्ता नगरेको गुनासो प्राप्त भइरहेकाले पुनः इमेलमार्फत ताकेता गर्ने तयारी गरिएको छ ।

रोजगारका लागि मलेसिया पुगेका नेपाली श्रमिकका लागि पासपोर्ट महत्त्वपूर्ण व्यक्तिगत तथा आधिकारिक कागजात हो । कम्पनीले पासपोर्ट नियन्त्रणमा राख्दा श्रमिकलाई आवतजावत, कानुनी प्रक्रिया तथा अन्य आवश्यक काममा समस्या पर्न सक्छ । त्यसैले पासपोर्ट फिर्ता नपाएका श्रमिकलाई समस्या लुकाएर नबस्न र तत्काल दूतावासमा जानकारी गराउन आग्रह गरिएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०