Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

गृह मन्त्रालयको निष्कर्ष : भारतीय सीमाबाट नेपाललाई कोरोनाको उच्च जोखिम

A-1584616219.jpg

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट नेपाल कोरोना भाइरस (काेभिड–१९)को उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले खुला सीमानाका कारण भारतबाट कोरोना संक्रमण सर्ने जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो ।

कोरोना भाइरसको वस्तुस्थिति, पूर्व तयारी र प्रतिकार्य योजना सम्बन्धमा छलफल गर्न बसेको बैठकले नेपाललाई उत्तरभन्दा दक्षिणतर्फका नाकाबाट जोखिम बढेको निष्कर्ष निकालेको हो । भारतमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्नेतर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडाई गर्नुपर्ने निष्कर्ष कार्यकारी समितिको बैठकको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले चेकजाँचमा कडाई गरी कोरोना भाइसलाई नेपाल प्रवेश गर्नै नदिने योजनाका साथ अगाडी बढ्ने विषयमा बैठकमा छलफल भएको बताए ।

समितिले अनर्गल प्रचार गर्ने र अफवाह फैलाउनेलाई कडा कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पनि दिइएको छ । अफवाह फैलाउने र अनर्गल प्रचार गरेमा १ लाख जरिवाना र ६ महिना कैद हुने व्यवस्था रहेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले अनर्गल प्रचार गर्नेलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

सरकारी कार्यालय बन्द हुन सक्ने

समितिले धेरै सेवाग्राही जमघट हुने सरकारी कार्यालयहरु समेत केही समय बन्द गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ । मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुमा सेवाग्राहीको भिड हुने गरेको उल्लेख गर्दै कार्यकारी प्रमुख पोखरेलले पानी, विद्युतको महसुल तिर्ने वा अन्य राजस्व बुझाउने कार्यालयहरुसँग समन्वय गरी यो महिना नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्ने वातावरण मिलाउने र बसपार्क जस्ता धेरै भिड हुने ठाउँमा सतर्कता अपनाउने विषयमा पनि बैठकमा छलफल भएको बताए ।



A-1584616220.jpg