nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

गाँजाको विकल्प खोज्दै कैलाश गाउँपालिका

भौगोलिक हिसावले मकवानपुरको दुर्गम क्षेत्रको रुपमा रहेको कैलाश गाउँपालिकामा गाँजाखेतीको बिकल्पबारे गाउँघरमै छलफल सुरु भएको छ । 

कैलाश गाउँपालिकाले १० वटै वडामा गठन गरेको ५० वटा टोल विकास संस्थाका पदाधिकारीहरु तथा सदस्यहरु एबम् समाजका अगुवाहरुका लागि गाँजाको विकल्पका सम्बन्धमा तालिम सञ्चालन गरी लागूऔषध न्यूनिकरणको प्रयास गरेको हो । कैलाश गाउँपालिका व्यवसायिक गाँजा खेती गर्ने गाउँपालिकाको रुपमा जिल्लामा परिचित छ । 

कैलाश गाउँपालिकाको माथिल्लो भेगमा हुने प्राकृतिक गाँजाको न्यूनिकरणका लागि वडा नं १ को डाँडाखर्क, वडा नं २ को छ्याङदुङ, वडा नं ५ को गोगने र वडा नं ६ को पकनीमा गठित टोल विकास संस्थाका पदाधिकारीहरुका लागि तालिम प्रदान गरिएको समुदायको लागि विकास संस्था नेपालका अध्यक्ष हेमलाल उप्रेतीले बताए ।  

यसअघि वडा नं ३ र ४ को लागि कालिकाटार, वडा नं ७ को लागि तामलाङ, वडा नं ८ को भार्ता, वडा नं ९ को नामटार र वडा नं १० को भाल्टारमा लागूऔषध न्यूनिकरण तथा बैकल्पिक खेती सम्बन्धी तालिम प्रदान गरिएको थियो । हरेक वडामा ५० जनाभन्दा बढीले लागूऔषध दुव्र्यसनको अबस्था, यसले निम्त्याउने समस्या र मकवानपुरको अबस्थाका बारेमा तालिममा जानकारी हासिल गरेका थिए । यो बर्ष १० वटै वडामा रहेको ५० वटा टोल विकास संस्थाका ५ सय भन्दा बढीलाई तालिम मार्फत लागूऔषध न्यूनिकरण र बैकल्पिक खेतीका सम्बन्धमा जानकारी दिइएको समुदायको लागि विकास संस्था नेपालका कार्यकारी निर्देशक नवीन सुवेदीले जानकारी दिए ।  

तालिममा युवा अभियन्ताहरु जीवन शर्मा, अशोक सारुमगर, शिवकुमार काशी, अमरकान्त झा, अशोकसुजन श्रेष्ठ र उमेश गुरुङले सहजीकरण गरेका थिए । हरेक वडामा गठित टोल विकास संस्थाहरुमार्फत नै लागू औषध न्यूनिकरण गरी बैकल्पिक खेती तथा पर्यटनको बारेमा छलफल चलाउने लक्ष्य अनुसार काम अघि बढेको गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताए । कैलाश गाउँपालिकामा कृषि, पशुपालन तथा पयर्टनको सम्भावनका खोजीका लागि कार्यक्रमले टोलतहमा बहस सिर्जना गरिदिएको उहाँले बताए । आगामी आर्थिक बर्षमा लागू औषध न्यूनिकरण गरी बिकल्प खोज्न चाहनेहरुका लागि स्वरोजगारी सिर्जना हुने खालका कार्यक्रमहरुको तर्जुमा गरिने उनले बताए ।