Monday, 15th June, 2026
वि.स.

कोरोनाबाट ७३ नेपालीको मृत्यु : एनआरएन

 कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ७३ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११, साउथ वेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ ।

यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या १५ पुगेको छ । जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स् (युएइ) मा ५, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।

यस्तै, नेपालबाहेक विश्वभर ५ हजार २ सय ४७ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १५ सय ७० जना उपचारपछि निको भएको अनुमान एनआरएनएले गरेको छ ।

एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार मध्यपूर्वका केही देशहरुमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको छ ।  कतारसहित केही मध्यपूर्वका देशले २ हजार ३ सय नेपाली श्रमिकहरुमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् ।