Thursday, 16th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

के गर्नु ? सरकारै खत्तम छ !

PhotoGrid_1630639205657-1630639936.jpg

भीडमभीड फुटपाथमा हिँडदै, दाँतले जिब्रोको टुप्पो थिच्दै
एक सज्जनले पिचिक्क थुक्यो पिचकारी,
र भन्योे “के गर्नु ? सरकारै खत्तम छ ।”


अफिस मेचमा बसेर, नाकमा औँला कोचेर
झिकेर केही नाकबाट मेचमुनि त्यो पोत्यो
र भन्योे “के गर्नु ? सरकारै खत्तम छ !”


बाथरुमबाट निस्केर चिसै हात लिएर
भेट्यो साथी तुरुन्तै मिलायो त्यै हात दिएर
र भन्यो “के गर्नु ? सरकारै खत्तम छ !”


बाटोमा युवती हिँड्दै छिन्, दुईवटा केटाले जिस्क्याए
देख्ने वरिपरि पाकाले चुपचाप हेरे, मुस्काए
र भन्यो “के गर्नु ? सरकारै खत्तम छ !”


दश वर्षे कलिलो केटोले चुरोट किनेर सल्कायो
पैसा फिर्ता दिँदै पसले मुसुक्क हेरेर मुस्कायो
र भन्यो “के गर्नु ? सरकारै खत्तम छ !”


जानुपर्ने कतै छैन, चढ्यो भीड बस छानेर
सर्दै सर्दै युवतीसँग उभियो ठेलठाल गरेर
र भन्यो “के गर्नु ? सरकारै खत्तम छ !”


चकलेट बिस्कुट पानपराग पानी होस् या बदाम
खायो सक्यो फ्यात्त फ्याँक्यो फोहोेर सप्पै सडकमा
र भन्यो “के गर्नु ? सरकारै खत्तम छ !”


तिर्दा भाडा ट्याक्सीको, बसको होस् या टेम्पोको
फिर्ता माग्दा खुद्रा छैन तीन चार रुपैयाँ सित्तैँ भो
र भन्यो “के गर्नु ? सरकारै खत्तम छ !”