nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मोटरसाइकल हराए मकवानपुरमा पूर्व गृहराज्यमन्त्रीको चुनावमा भेटिन सक्छ है !

पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेस मकवानपुरका सभापति र्इन्द्रबहादुर बानियाँको चुनावी प्रचारमा चोरीको मोटरसाइकल प्रयोग भएको खुलेको छ । बानियाँ मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ख मा उम्मेदवार छन् । ६ मंसिर बिहान थाहा नगरपालिकाको गैरीगाउँमा प्रहरीले चालकसहित दुई मोटरसाइकल बरामद गरेपछि बानियाँको चुनावमा चोरीको मोटरसाइकल प्रयोग भइरहेको रहस्य खुलेको हो । पक्राउ पर्नेमा साबिक गोगने गाविस ८ हाल कैलाश गाउँपालिका वडा नम्बर ६ का सिंहबहादुर मोक्तान छन् ।

६ मंसिर बिहान १० बजे पकनेबाट डाँडाबास जानेक्रममा गैरीगाउँमा प्रहरी टोलीले मोटरसाइकल जाँच गर्ने क्रममा दुईवटा बाइक छोडेर सिंह बहादुरसहितका युवा भाग्न खोजेका थिए । नेपाली कांग्रेसको झण्डा बाइकमा बाँधेका उनीहरुले प्रहरी देख्नासाथ झण्डा फालेका थिए । सोही क्रममा सिंहबहादुर पक्राउ परेको प्रत्यक्षदर्शीले बताए । उनीहरु केहीदिनदेखि निरन्तर कांग्रेसको झण्डा हालेर बाइक चलाएर गाउँमा हिँडिरहेको स्थानीयले बताए । बरामद गरिएका दुई मोटरसाइकल चोरीको भएको पुष्टि भएको छ ।

धादिङको गल्छीका आयस ठकुरीको नाममा रही कलंकीबाट हराएको नम्बर प्लेट नै नरहेको मोटरसाइकल बरामद भएको हो । त्यसैगरी बा ४२ प ९४०७ नम्बरको मोटरसाइकल काठमाडौँ २१ का शरण पौडेलको नाममा रहेको पत्ता लागेको छ । महानगरीय ट्राफिक प्रहरी बृत्तलाई इञ्जिन नम्बरसहित पत्राचार गरेपछि चोरीका मोटरसाइकल भएको खुलेको हो । केहीदिन अघि नेपाली कांग्रेसले गोगनेको बाइसेमा आयोजना गरेको कार्यक्रममा यी दुबै बाइक प्रयोग भएको स्थानीयले बताए ।

उनीहरुले चोरीका बाइकसमेत जम्मा गरेर आचारसंहिता बिपरित चौकीटार हुँदै कटहरेसम्म मोटरसाइकल ¥याली गरेका थिए । ¥यालीपछि बाइसेमा आयोजित कार्यक्रममा पूर्वगृहराज्य मन्त्री र्इन्द्रबहादुर बानियाँलगायतका नेता सहभागी भएका थिए । प्रहरीका अनुसार बाइक छोडेर भाग्ने अन्य युवामा कैलाश ६ कै बीरसिंह मुक्तान र बिजय मोक्तान रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । फरारहरु पक्रन प्रहरीले प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए । केही दिनदेखि स्थानी कांग्रेस कार्यकर्ता नयाँ नयाँ बाइक चढेर बानियाँले दिएको बाइक भन्दै गाउँमा हिँड्ने गरेका पाइएको स्थानीयले बताए । चुनाव प्रचारका लागि आएको बाइक भनेर स्थानीयले खासै चासो देखाएका थिएनन् ।

तर, प्रहरीले पक्राउ गरेपछि मात्रै ती बाइकहरु चोरीको भएको पाइएको थियो । पक्राउ परेको मोटरसाइकल र सिंहबहादुर मुक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी बृत्त काठमाडौँ पठाइएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)