nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

काँग्रेसको शर्मनाक हार हुन्छ : पाण्डे

आगामी २१ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसको शर्मनाक हार हुने दावी गरिएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्व स्थानीय बिकास मन्त्री राजेन्द्रप्रसाद पाण्डेले यस्तो दावी गरेका हुन् । 

१६ मंसिरमा मकवानपुरको थाहा नगरपालिका–७ डाँडाबासमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले आफूले धादिङमा काँग्रेसभन्दा १६ हजार बढी मतले चुनाव जितिसकेको र गन्न मात्र बाँकी रहेको बताए । ‘उताको चुनाव सकेर यही सन्देश दिन म मकवानपुर आएको हुँ, मकवानपुरमा काँग्रेसको शर्मनाक हार हुनेछ,’ पाण्डेले भने । 

कम्युनिष्टले जित्यो भने रुनै पाउँदैन भन्ने काँग्रेसका नेताहरुको भनााईप्रति लक्षित गर्दै नेता पाण्डेले भने, ‘अब रुनै पर्दैन, जनताको सुखको दिन आउँछ ।’ ‘बाम गठबन्धनलाई अत्याधिक मतले जिताएर पठाउनुस्, पाँच वर्षमा नेपालको मुहार फेरेर देखाइदिनेछौं,’ उनको आग्रह थियो ।

साविक आग्रा गाविसस्तरको चुनावी सभामा हजार बढी जनताहरु सहभागी भएका थिए । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा क्षेत्र नं. २ का उमेदवार एवम् नेकपा एमालेका केन्द्रीय सदस्य विरोध खतिवडाले नेपालको विकासमा श्रोतको हाइन, सोचको अभाव रहेको बताउँदै नेपालको समृद्धिको सपना पूरा गर्ने सोच र दृष्टिकोण बाम गठबन्धनसँग मात्र रहेको बताए । जव जव नेपालमा बामपन्थीको सरकार बन्यो, नेपाली जनताले देख्ने गरी विकासका ढोकाहरु खोलियो’ खतिवडाले भने, ‘काग्रेसले कार्यकर्ताको भरणपोषण गर्ने कामबाहेक केही गर्न सकेन ।’

कार्यक्रममा बाम गठबन्धनका तर्फबाट मकवानपुर–२(क)को उमेदवार रहेकी माओवादी मकवानपुरकी इन्चार्ज कुमारी मोक्तानले पनि बोलेकी थिइन् । उनले बाम गठबन्धनको जीत सुनिश्चित रहेको बताउँदै जीतपछि घोषणापत्रमा लेखिएका कुराहरुलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भूमि नभएका र भएर पनि लालपूर्जा नपाएकाहरुको दुई वर्षभित्र तथ्याङ्क संकलन गरी तेस्रो वर्षबाट लालपूर्जा वितरण शुरु गर्ने बताइन् । 
एमाले थाहा नगर–७ नं. वडा अध्यक्ष काजीमान थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर–२ का निवर्तमान साँसद सुभाषचन्द्र ठकुरीले दिगो विकासका लागि काम गर्ने क्षमता बामगठबन्धनसँग मात्र भएको बताए । उनले आफू साँसद हुँदा गरेका विकास निर्माण लगायत विकास व्यवस्थापनका विविध पक्षहरुको चर्चा गरे । 

एमालेका प्रदेश कमिटी सदस्य रामेश्वर रानाले समृद्धिको यात्रा सुनिश्चित गर्न बाम गठबन्धनले जित्नुको बिकल्प नरहेको बताए ।  कार्यक्रममा एमाले मकवानपुरका नेताहरु विष्णुप्रसाद ढकाल, रामचन्द्र बल, राजु नापित, अच्युतमप्रसाद ढकाल, डिके पुडासैनी, जीवन लामा, देवराज केसी, कालु ढकाल, मदन दाहाल, बाबुराम दाहाल, देबराज रीमाल, खेमराज सापकोटा, अशोक ठकुरी, गौतमबुद्ध लामा, कल्याणविक्रम घलान, इश्वर रुम्बा, किरणमान बल, यादव लामा लगायतको उपस्थिति रहेको थियो । त्यस्तै माओवादी केन्द्रका नेताहरु प्रकाश पाण्डे, विष्णु विष्ट आदर्श, विजय गौतम, अरुण रायमाझी, विनायक गोले, राजेश केसी, दिपेन्द्र थिङ, सुमन कार्की लगायत उपिस्थत थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)