nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 30th April, 2024
वि.स.
1000043965-1707579226.jpg

कडा आयो थाहानगरको शिक्षा ऐन

थाहा नगरपालिका क्षेत्रका विद्यालयहरुमा अध्यापन गराउने शिक्षकहरुले अब पाँच वर्षभन्दा बढि एउटै स्कूलमा पढाउन नपाइने ऐन पास भएको छ । थाहा नगरपालिका शिक्षा ऐनले यस्तो व्यवस्था गरेको हो । एकै शिक्षकले एउटै विद्यालयमा पाँच वर्षभन्दा बढि अध्यापन गराएको छ भने विद्यालय व्यवस्थापन समितिको परामर्शमा नगरपालिकाको जुनसुकै विद्यालयमा सरुवा गर्ने व्यवस्था ऐनमा गरिएको छ । ऐनमा गरिएको यो व्यवस्था दरबन्दीका शिक्षकहरुलाई मात्र लागू हुनेछ । नगरपालिकाको शिक्षा ऐनमा यो व्यवस्था आएसंगै दशकौदेखि एकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकहरुमा खैलाबैला भएको छ । त्यसोतः शिक्षण भन्दा पनि जागिरे शैलीमा दिन बिताउँदै पाँच वर्ष कटाएका शिक्षकहरु यो ऐनको चपेटामा पर्ने देखिएको छ । 

गुणस्तरीय शिक्षाका लागि ऐनमा यस्तो व्यवस्था ल्याइएको ऐन मस्यौदा समितिका संयोजक तथा थाहानगर कार्यपालिका सदस्य शशीधर सुवेदीले बताए । विद्यालयको दरबन्दीमा पाँचवर्ष भन्दा कम अध्यापन गराएका शिक्षकहरुलाई पनि नगरभित्र सरुवा हुने बाटो ऐनले फुकाएको छ । विद्यालय व्यवस्थापन समितिको सहमतीमा एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा हुने व्यवस्था ऐनमा गरिएको ।  

नगर शिक्षा ऐन अनुसार अब थाहा नगरपालिकामा कक्षा ३, ५, ८ र १० को परीक्षा नगरपालिकाले लिनेछ । नगरपालिकाको शिक्षा शाखाले यसको व्यवस्थापन गर्ने भएको हो । शिक्षा ऐनले व्यवस्था गरे अनुसार अब थाहानगरका विद्यालयहरुमा करार शिक्षक राख्नका लागि सम्बन्धीत विद्यालयले शिक्षक भर्ना गर्न पाउने व्यवस्थालाई बन्देज लगाइएको छ । यसरी नगर भित्रका विद्यालयहरुमा रिक्त पदपूर्तिको लागि करार शिक्षक भर्ना गर्न नगरपालिकाले संख्या एकीन गरी एकमुष्ट विज्ञापन गर्नेछ । त्यसैगरी विद्यालयले एकलौटी रुपमा हेडमास्टर  राख्न पाउने व्यवस्थालाई पनि नगरपालिका शिक्षा ऐनले अंकुश लगाएको छ । अब विद्यालयहरुको हेडमास्टर बन्नका लागि विद्यालय व्यवस्थापन समितिको निर्णयले मात्र हुँदैन यसका लागि नगर शिक्षा समितिले समेत सिफारिस गर्नुपर्नेछ । 

त्यसैगरी थाहा नगरपालिका शिक्षा समितिमा शिक्षक महासंघ र संस्थागत विद्यालयबाट एक÷एक जना प्रतिनीधि       रहने व्यवस्था समेत ऐनले गरेको छ । नगरको शिक्षालाई थप गुणस्तरीय बनाउनको लागि अब तत्कालै शिक्षा नियमावलीहरु निर्माण गरी कार्यान्वयनमा ल्याइने संयोजक सुवेदीले जानकारी दिए ।

थाहा नगरपालिकाको दोस्रो नगरसभाले शिक्षा ऐन सहित सहकारी ऐन पनि पास गरेको छ । दुवै ऐन सर्वसम्मत रुपमा पास गरेको नगरसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । थाहा नगरपालिकाको शिक्षा ऐन निर्माणका लागि कार्यपालिका सदस्य तथा ६ नम्बर वडा अध्यक्ष शशीधर सुवेदीको अध्यक्षतमा मस्यौदा समिति गठन गरिएको थियो । मस्यौदा समितिमा कार्यपालिका सदस्य कविता कार्की र नगर शिक्षा अधिकारी लक्ष्मण दाहाल रहेका थिए । समितिले गरेको ऐनको मस्यौदा २२ चैत्रमा बसेको कार्यापालिका बैठकले पास गरी नगर सभामा पेश भएको थियो ।  

मस्यौदा समिति संयोजक सुवेदीबाट पेश भएको ऐनलाई नगर प्रमुख लवशेर विष्टले सभामा निर्णयार्थ पेश गरेका थिए । सभामा पेश भएको ऐन सर्वसम्मत पास भएको थियो । 

पास भयो सहकारी ऐन

थाहा नगरपालिकाले पास गरेको   सहकारी ऐन अनुसार अब उद्योग संचालनकहरु मिलेर उद्योग सहकारी खोल्न सकिनेछ । २३ चैत्रमा सम्पन्न दोस्रो नगरसभाले सहकारी ऐन पारित गरेसंगै यस किसिमको सहकारी दर्ता गर्ने बाटो खुलेको हो । 

त्यसैगरी एक सहकारीले अर्को सहकारीमा लगानी गर्नका लागि पनि ऐनले व्यवस्था गरेको छ । ऐनले सहकारीलाई विविधकरण गर्नेलगायतको सवालहरुलाई समेटको छ । 

नगर सभा समक्ष सहकारी ऐन मस्यौदा समितिका संयोजक किरणमान बलले पेश गरेका थिए । उनले ऐनको मूलभूत व्यवस्थालाई सभामा जानकारी समेत गराएका थिए । मस्यौदा समिति संयोजक बलबाट पेश भएको ऐनलाई नगर प्रमुख लवशेर विष्टले सभामा निर्णयार्थ पेश गरेका थिए । सभामा पेश भएको ऐन सर्वसम्मत पास भयो । बलको संयोजकत्वमा गठन भएको सहकारी ऐन मस्यौदा समितिमा कार्यपालिका सदस्य सुन्तली गुरुङ र थाहा नगरपालिका प्रशासन शाखा प्रमुख अनिल लामिछाने थिए ।

स्थानीय तहले तयार गरी कार्यान्वयनमा ल्याएको ऐन, नियमावली तथा नियम र कार्यविधिहरु संघीय सरकार तथा प्रदेश       सरकारको ऐनसंग बाझिए स्वतः निष्क्रिय हुनेछ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)