Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

आवागमन रोकौं, उद्योग र निर्माण सञ्‍चालन गरौँ-मुख्यमन्त्री पौडेल

DM-Sir-1587834170.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाह्य आवागमन रोकेर उत्पादन र निर्माण सञ्चालन गर्नुपर्ने बताएका छन्। शनिबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले ‘लकडाउन’लाई परिमार्जन गर्नुपर्ने उल्लेख गरे।  'बाह्य आवागमन रोकौँ, उत्पादन र निर्माणलाई सञ्चालन गरौँ', मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ।

देशमा कोरोना भाइरसले माहामारीको रुप लिन नसक्नुको मुख्य कारण लकडाउन नै भएको उनले बताए। पौडेलले कोरोना भाइरसको महामारीबाट जोगिन लकडाउनको विकल्प भने नभएको पनि उल्लेख गरेका छन्। 'तर लकडाउनलाई परिमार्जन गर्न भने आवश्यक देखिन्छ, खेतीपातीको मौसम भएकाले खनजोत, मलखाद्यको ओसारपसार, बालीनाली लगाउने, थन्काउनेलगायत कृषिकार्यका लागि उचित व्यवस्था गर्नुपर्ने हुन्छ', उनले भनेका छन्,'त्यस्तै विकास निर्माणका हिसाबलेसमेत यो मौसमलाई महत्वपूर्ण मानिने हुँदा सम्बन्धित कार्यस्थललाई नै क्‍वारेन्टाइन मानेर मजदूर थपघट नगर्ने गरी विकास निर्माणलाई निरन्तरता दिनुपर्छ।' यसैगरी निश्‍चित सीमा सिल गरेर आन्तरिक क्रियाकलाप सञ्चालन गर्दा जनजीवन सरल हुनुका साथै रोकिएको आर्थिक क्रियाकलाप सञ्चालन हुने उनको भनाइ छ।

'त्यसैले कुनै पनि जिल्ला, स्थानीय तह वा उपत्यकाका नाका बन्द गरेर बाह्य आवागमन रोक्दै र भित्रका आर्थिक क्रियाकलाप सञ्चालन गर्दै ‘आवागमन रोकौँ, उत्पादन र निर्माण सञ्चालन गरौँ,’ उनले भनेका छन्। उनले लकडाउन खुकुलो बनाउँदा पनि सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्। 'यद्यपि, लकडाउन खुकुलो बनेको वा पूरै हटेको अवस्थामा पनि  हामीले सावधानी भने अपनाउन आवश्यक छ', उनले भनेका छन्,'सङ्क्रमण फैलन मद्दत पुर्‍याउने हाम्रा दैनिकी, आनीबानी तथा विज्ञले सुझाएकोभन्दा बाहेकका क्रियाकलाप भने पूर्णरुपमा रोक्नुपर्छ।' आफू र आफ्नालाई महामारीबाट जोगाउन भूमिका निर्वाह गर्नु हरेक नागरिकको कर्तव्य हुने उनले बताएका छन्।