Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आयोजना बोर्डको मूल्य कति ? ठगिँदैछन् उपभोक्ता समिति
नगरपालिकालाई नोक्सान हुन्छ, छानविन गर्छु : मेयर लवशेर विष्ट

थाहा नगरपालिकाको वास्तविकता, एउटा उपभोक्ता समितिले एउटा आर्टलाई सूचना बोर्ड लेखाउँछ र बिल ल्याउँछ तीन हजारको । अर्को उपभोक्ता समितिले अर्को आर्टबाट सूचना बोर्ड बनाएवापत १७ सय को विल ल्याउँछ । सामग्री उही, परिमाण उही, गुणस्तर उही, लेखाई उही, काम उही । यत्तिको अन्तर किन हुन्छ ? एक हजार भन्दा बढीको अन्तर जो छ, नगरपालिकाको ३ सय ४४ वटा योजनाको हिसाव गर्ने हो भने कम्तिमा ३ लाख ४४ हजार रुपैया सोझै नगरपालिकालाई नोक्सान देखिन्छ । यसमा जिम्मेवार को ? बहश शुरु भएको छ ।

निःस्वार्थ ढंगले सामाजिक सेवामा समर्पित एउटा उपोक्ता समितिले नगरपालिकाको बजेटबाट ंसंचालन गर्ने योजनाको जानकारी दिने सूचना बोर्डको मूल्यमा व्यापक अन्तर रहेको भन्ने खबर पाएपछि शुक्ष्म अध्ययन गरियो। पत्ता लाग्यो कि थाहा नगरकै बोर्ड बनाउने पसलहरुमा मूल्यमा व्यापक अन्तर छ । 

३ फिट लम्बाई  र २ फिट चौडाइ भएको बोर्ड निर्माण गर्दा थाहा नगरपालिका दोवाटोमा रहेको तारा आर्टको मूल्य ३ हजार, कुन्छालस्थित श्रृजना आर्टको मूल्य  १ हजार ७ सय र ओखरबजारस्थित आरभ क्रियशनको मूल्य १ हजार ७ सय रहेको पाइएको छ । त्यस्तै हेटौंडास्थित रुपेश आर्टमा १ हजार ५ सय, ग्यालेक्सी आर्ट हेटौडामा १ हजार ७ सय ५० रुपैया मूल्यमा सूचना बोर्ड निमार्ण हुने बुझिएको छ । 

तारा आर्टका प्रोपाइटर कुमार विकले आफूले ३ फिट लम्बाई  र २ फिट चौडाइको सामान्य सूचना बोर्डको ३ हजार रुपैया लिने बताए । उनले अहिलेसम्म १०० को हाराहारीमा सूचना बोर्ड बनाएका छन् । नगर परिषदले चालु आर्थिक वर्षका लागि ३ सय ४४ वटा योजना पारित गरेको थियो । 
निर्मित बोर्डहरुको सामान्य अध्ययन गर्दा ६ बर्ग फूट पाता, १२ वर्ग फूट पौने १ इन्च साइजको स्क्वायर पाइप, ८ फुट १.५ को पाइप प्रयोग भएको देखिन्छ । यसको बजारमूल्यमा आर्टिस्टको रंग र लेखाइ ज्याला समावेश हुन्छ । 

थाहानगरको बजारको सामान्य अध्ययन गर्दा पाताको अधिकतम मूल्य प्रति वर्ग फूट ३७ रुपैयाको दरले २ सय २२ रुपैया, स्क्वायर पाइप प्रति स्क्वायर फुटको २६ रुपैयाको दरले ३ सय १२ रुपैया,  राउण्ड पाइप प्रति फुट ६६ रुपैयाको दरले ५ सय २८ रुपैया पर्ने देखिन्छ । यसको साथै २ सय ५० रुपैया वायल्डिङ ज्याला र ४ सय २० रुपैया लेखाईसहित ज्याला जोड्दा एउटा बोर्ड तयार हुँदा बजारको खुद्रा मूल्यअनुसार १७ सय ३२ रुपैया पर्ने देखिन्छ । यो अधिकतम मूल्य हो र आर्टिस्टको सबै पारिश्रमिक यसैमा समावेश हुन्छ । कमर्सियल आर्टिस्ट संघको दरअनुसार सामान्यतया  एउटा आर्टिस्टले सामान्य बोर्ड बनाउँदा ज्यालासहित प्रति स्क्वायर फुट ६० रुपैयाको दरले 
िलन्छन् ।  

थाहा  नगरकै अन्य आर्टको तुलनामा झण्डै दोब्बर रकम लिँदै आएका तारा आर्टका सञ्चालक कुमार विकले नगरपालिकाको उपभोक्ता समितिको ३ लाख भन्दा बढी रकम भएको योजनाको बोर्ड बनाउँदा एउटा तयारी बोर्डको ३ हजार पर्ने दावी गरे । ‘३ लाख भन्दा बढीको योजनाको बोर्ड बनाउँदा ३ हजार पर्छ, इच्छा परे बनाउनुस्, इच्छा नपरे नबनाउनुस्, यही भन्ने गरेको छु, उपभोक्ताहरु बोर्ड बनाउन लगाउँछन्, पैसा तिर्छन्, लैजान्छन्’ विकले पत्रकारसँग भने ।  यस विषयमा तारा आर्टको के दोष ? हेटौंडा जानै परेन, थाहा नगरमै रहेका आर्ट व्यावसायीहरुमध्ये नगरपालिकाले किन प्रतिष्पर्धा गराउन सकेन ? 

पत्रकारको टिमले थाहा नगरका मेयर लवशेर विष्टसँग सम्पर्क गर्दा उपभोक्ताहरुबाट यस विषयमा गुनासो नआएको जिकिर गरे । उनले अबका दिनमा  नगरपालिकाको योजनाको बोर्ड बनाउन नगरपालिकामा आर्ट व्यवसायीहरुलाई सूचिकृत गराई उनीहरुमध्येबाट प्रतिष्पर्धाको आधारमा छनोट गर्ने बताए ।

अब एउटा प्रश्न खडा भएको छ, त्यही बोर्ड एउटा आर्ट व्यवसायीबाट ३ हजारको बिल आउँछ, अर्को व्यवसायीबाट १७ सयको बिल आउँछ, नगरपालिकाले पास गर्छ कि गर्दैन ? यसरी आएको बिल स्वीकृत नहुने थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहराले बताए । योजना सञ्चालन सम्बन्धी अभिमुखीकरण तालिमसमेत नलिएका सर्वसाधारण उपभोक्ता समितिले सूचना बोर्डको बिल पेश गर्दा पास भएन भने के हुन्छ ? एक उपभोक्ताले नगरपालिकाका कर्मचारीले बोर्ड बनाउन तारा आर्टमा जान मौखिक सिफारिश गरेको बताए । 

थाहा नगरपालिकाको चौंथो नगर परिषदबाट चालु आर्थिक वर्षमा विनियोजित कार्यक्रम र बजेटबारे सरोकारवाला सर्वसाधारणको जानकारीको लागि सूचना बोर्ड राख्नुपर्ने प्रावधान छ । ‘जव राती, तव ताती’ भनेजस्तै उपभोक्ता समितिहरु ‘लास्ट आवर’ मा धमाधम सम्झौता गरेर काम गर्नुअघि सूचना बोर्ड बनाउन आर्ट पसलहरुमा धाइरहेका छन् । नगरपालिकाले यस वर्ष सबै वडामा गरी ३ सय ४४ वटा योजना उपभोक्तासमितिमार्फत् कार्यान्वयन गर्दैछ । अहिलेसम्म ९५ प्रतिशत भन्दा बढी योजनाको सम्झौता भइसकेको थाहा नगरपालिकाका योजना शाखा प्रमुख प्रकाश थिङले जानकारी दिए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०