nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

‘‘तामाङहरु भ्रममा बाँचिरहेका छन्’’–कृषि राज्यमन्त्री तामाङ्ग

कृषि राज्यमन्त्री राधिका तामाङ्गले अहिले सम्म तामाङ्गहरु भ्रममा बाँच्न बाध्य भएको बताइन् । ३० असोजमा नेपाल तामाङ्ग घेदुङ मकवानपुरको कार्यालय परिसरमा भएको भेटघाट कार्यक्रममा बोल्दै उनले विभिन्न कालखण्डमा तामाङहरुको ईतिहास मेटाईएको चर्चा गर्दै अहिले पहिचान र ईतिहास खोज्ने क्रममा विभिन्न धारमा आएका विवादका कारण तामाङहरु भ्रममा परिरहेको बताइन् । 
‘‘तामाङहरु अहिले दशैँ मनाउने र नमानाउने गरी दुई समूहमा बाँडिएका छन् । कतिपय ठाउँमा अहिंसावादी तामाङको नाममा झडप समेत भएको छ । त्यतिमात्र होईन तामाङहरुको वास्तविक लिपि सम्भोटा लिपि हो वा ताम्यीग लिपि हो भन्ने कुरामा पनि विवाद छ । ’’ उनले भनिन् । तामाङहरु विभिन्न समूहमा विभाजित भएकोले कुन समूहलाई आधिकारिक मानेर सहयोग गर्ने भन्ने भ्रम समेत रहेको उनले बताइन् । 
उनले धेरै जसो दशैँ मनाउने तामाङहरुले सेतो टिका लगाउँदै आएको र रातो टिकाको सट्टा किन सेतो टिका लगाईयो भन्ने जस्ता ऐतिहासिक कुराहरुबारे तामाङ समुदाय अनभिज्ञ रहेको बताइन् । 

उनले–तामाङहरुको वास्तविक पहिचानका र अधिकारकालागि अब राज्यको कार्यकारिणी तहमा रहेका अगुवाहरुले नै तामाङहरुको वास्तविक ईतिहास र वास्तविक कलासंस्कृतिका बारेमा जानकारी गराएर एउटै लिपि र संस्कृतिको पहिचान सहित अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् । उनले ‘तामाङ घेदुङ्ग’,  विभिन्न संघ, संगठन र दलमा बाँडिएर रहेका तामाङहरुलाई एकताबद्ध गर्ने साझा थलो रहेको भन्दै सबै तामाङलाई एक धारमा ल्याउने जिम्मा तामाङ घेदुङको रहेको उल्लेख गरिन् । 
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष लिलाकुमार घलान, सचिव आत्माराम मोक्तान, उपाध्यक्ष कालु घलान, सल्ललाहकार शुभरत्न गोले, हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष सुनिल मोक्तान, आदिवासी जनजाति महासंघ (फोनिज) अध्यक्ष पूर्णिमा गोले , गोले वंशका जिल्ला अध्यक्ष मानबहादुर गोले,अधिवक्ता अमृतकुमार लामा,  लगायत जिल्लाका तामाङ संचारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
-चन्द्र घलान, हेटौंडा