nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडामा रिचार्ज पोखरी निर्माण गरिँदै

hetauda-khanepaani-1568602359.jpg

विकास निर्माणको नाममा बढेको कंक्रिट क्षेत्रले पानी रिचार्जमा समस्या आउन थालेपछि रिचार्ज पोखरी निर्माण गरिने भएको छ।

मकवानपुरका धेरै क्षेत्रमा २०७२ सालको भूकम्पपछि पानीको मात्रा ह्वात्तै घटेको छ। जनघनत्व बढेसँगै पिउने पानीको अभाव हुन नदिन खानेपानी व्यवस्थापन बोर्ड, हेटौंडाले सतहमा पानीको रिचार्ज सहज बनाउन पोखरी बनाउने भएको हो। बढ्दो जनघनत्व र हरियाली संरक्षणमा टेवा पुर्‍याउन यस्ता पोखरी निर्माण आवश्यक ठानिएको खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाका अध्यक्ष प्रताप बिष्टले बताए। रिचार्ज पोखरीले वर्षायाममा जमिनमुनि पानी सोस्ने र सुक्खायाममा पानी रिचार्जमा सहयोग गर्नेछ।

पक्की सडक, कंक्रिट ढलान आदिका कारण पानी जमिनमुनि जान नपाएपछि पछिल्लो समय बोरिङ गरिएको ठाउँबाट पानीको परिमाण एक्कासि घट्न थालेको खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ। ‘हामीले हेटौंडा–८, कमाने क्षेत्रमा बोरिङ खन्दै जाँदा पानी नै भेटेनौं, दुई स्थानमा असफल भएपछि यो योजना ल्याएका हौं,’ अध्यक्ष बिष्टले भने। हेटौंडाबासीका लागि पिउनेपानीको समस्या नभएको भए पनि आगामी दिनमा बढ्दो जनघनत्वलाई सम्बोधन गर्न रिचार्ज पोखरी अत्यावश्यक भएको उनको भनाइ छ।

खानेपानी व्यवस्थापन बोर्डले यो वर्ष चारवटा रिचार्ज पोखरी निर्माण गर्ने भएको छ। जिल्ला वन कार्यालय र जिल्ला समन्वय समितिसमेतको सहकार्यमा अरु २÷३ वटा पोखरी बनाउन सकिने खानेपानी बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकालले बताए।

यस्ता पोखरी वनजंगलनजिकै बनाउन सकेमा वन्यजन्तुको लागि पानी पर्याप्त हुने अध्यक्ष बिष्टले बताए। ‘पानीको खोजीमा बस्तीतिर आएर जनावरले दुःख दिने समस्या कम हुन्छ, हामीलाई पिउने पानीको उपलब्धतामा पनि सहज हुन्छ,’ जिल्ला वनसँगको समन्वयमा थप पोखरी निर्माण गर्ने हाम्रो सोच छ,’अध्यक्ष बिष्टले भने।

हाल बोर्डले दैनिक १७ हजार १ सय ६१ धाराबाट १ करोड ३५ लाख ९२ हजार लिटर पानी वितरण गरिरहेको छ। २ हजार १ सय १० नयाँ धारा जडानका लागि निवेदन आएको बोर्डले जनाएको छ।

-नेपालन्युजबाट