Wednesday, 19th May, 2021
वि.स.

सुरक्षाकर्मीको गोलीबाट ३ आन्दोलनकारीको मृत्यु

प्रहरी र सुरक्षाकर्मीबीच भएको झडपमा सप्तरीमा तीन जनाको मृत्यु भएको छ । २३ फागुनमा नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई प्रहरी रोक्दा झडप भएको थियो । झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले गुलेलीका साथै पेट्रोल बम हानेपछि बाध्य भएर गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

सुरक्षाकर्मीले चलाएको गोली लागेर मलेठ ४ का २० वर्षीय संजन मेहताको मृत्यु भएको छ । यस्तै लिमनका दिगम्बर झा र मलेठ ४ का पिताम्बर मण्डलको मृत्यु भएको छ । गोली लागेर गम्भीर घाइते भएका झाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
झडपमा दर्जन व्यक्तिहरु घाइते भएको बताइएको छ ।

मेची महाकाली अभियान तीन दिनका लागि स्थगित

नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।

सप्तरी घटनापछि एमालेले अभियान रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान २३ फाुगनमा सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।

लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीको आकस्मिक बैठकले षड्यन्त्रको गन्ध आएको भन्दै तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ ।