nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सिलाइ रोज्दै विवाहित किशोरीहरु

IMG_1781-1475902838.JPG

थाहा–६ की १७ वर्षीया सजिता तामाङ विवाहित हुन् । उनको डेढ वर्षको बच्चा पनि छ । सिलाईसम्बन्धी आधारभूत तालिम लिएर उनले माइती नजिकै कपडा सिलाउने पसल राखिन् । अहिले उनले सिलाइमा एड्भान्स तालिम पनि लिइसकेकी छिन् । 
असोज २० गते बिहीबार सजिताले नयाँ सिलाई मेशिन हात पारिन् । प्लान इन्टरनेश्नलले सिलाइ तालिमको अन्त्यमा व्यवसायका लागि मेशिन दिएपछि सजिता औधि खुशी भइन् । 
सजितासँगै एड्भान्स सिलाई तालिम लिने रक्षा कार्कीले पनि मेशिन बुझिन् । उनीहरुबाहेक अन्य सात जनाले आधारभूत सिलाइ तालिम लिएका थिए ।उनीहरुले पनि मेशिन पाए । 
६ महिनाअघि विबाहित किशोरीहरुलाई व्यवसाय छनोटको लागि अवसर दिँदा उनीहरुले सिलाई रोजेका थिए । सोही अनुसार प्लानको सहयोगमा निश्पक्ष युवा समूहले सिलाई प्रशिक्षणको व्यवस्था गरेको थियो । 
‘हामीले ३५ आइटममा कपडा सिलाउन सिकेका छौं । महिलाहरुको लागि ब्लाउज, चोलो, म्याक्सी, कुर्ता, सुरुवाल, सर्ट, पाइन्ट, पाइजामा आदि सिलाउन जानेका छौं,’ थाहा–८की सावित्री केसीले भनिन् । 
सिलाई मेशिन पाएपछि उनीहरुले त्यसलाई उपयोग गर्ने बताएका छन् । ‘६ महिनाको सिकाइ अब देखाउँछौं । पहिले घरपरिवारका पुराना कपडा सिलाउने, काट्ने काम गर्छौं अनि नयाँमा जान्छौं,’ उनीहरु भन्छन् । 
थाहा–८ दोबाटोस्थित प्रतिष्ठा किशोरीमैत्री केन्द्रमा उनीहरुले सिलाई सिकेका थिए । प्रंशिक्षक थिइन्, थाहानगरमा १४ वषदेखि सिलाई व्यवसाय गर्दै आएकी आरती श्रेष्ठ । कार्यक्रममा उनले सिलाइसम्बन्धी काम गर्दा कुनै समस्या आए आफू आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताइन् । 
मेशिन हस्तान्तरण कार्यक्रममा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियार, गैरसरकारी संस्था महासंघ मकवानपुरका सचिब कुमार नेगी, प्लान इन्टरनेशनलका विकास संयोजक रेशम ठकुरी, थाहानगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्री, निष्पक्ष युवा समूहका अध्यक्ष निराजन गोपाली लगायत सहभागी थिए । 
कार्यक्रममा सबै प्रशिक्षार्थीहरुको कुरा सुनेपछि थाहा नपाका कार्यकारी अधिकृत परियारले सीपलाई व्यवसायमा बदल्न सहभागीहरुलाई आग्रह गरे । ‘तपाइहरुको अनुगमन हुन्छ, हामी आउँदा सिलाई मेशिन चलिरहेको हुनुपर्छ,’ उनले भने ।
आधारभूत सिलाइ तालिम लिएकाहरुमा व्यवसायिक उत्साह  देखिएमा नगरपालिकाबाट एड्भान्स तालिम प्रदान गर्न सकिने उनले बताए । भने, ‘प्रस्ताव पेश गर्नुस् ।’