Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सिडिओ तामाङको प्रण –‘कसैलाई पनि अन्याय हुन दिन्न’

सिन्धुपाल्चोक जिल्लामा सफल कार्यकाल सम्हालेर मकवानपुरमा सरुवा भइ आएका मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आफ्नो कार्यकालमा कसैलाई पनि अन्याय हुन नदिने बताएका छन् । नेपाल तामाङ घेदुङ जिल्ला शाखा मकवानपुरले बुधबार हेटौँडामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै सिडिओ तामाङले कानुन अनुसार सबै मकवानपुरवासीलाई अन्याय हुन नदिन आफु सजक रहेको बताएका हुन् ।

तामाङ समुदायमा पढ्ने पढाउने प्रक्रियामा सुधार गर्दै शासनमा पहुँच पुराउनुपर्ने कुरामा उनले जोड दिए । ‘मैले कर्तव्य पुरा गरिरहँदा कतै जातियताको कुरा पुग्ला, तर मकवानपुरमा जातियताका हिसाबले कसैलाई पनि अत्याचार हुन दिन्न,’ म सबै समुदायको प्रतिनिधि हुँ, उनले भने, ‘सबैसँग समन्वय गरेर समृद्ध मकवानपुर बनाउन मेरो योगदान रहनेछ, कुनै पनि सुझावका लागि मेरो कार्यालयको ढोका सधैँ खुल्ला छ ।’

सिन्धुपाल्चोक जिल्लामा ११ महिनासम्म कार्यरत रहँदा तामाङहरुको शिर निहुराउने कुनै काम नगरेको भन्दै उनले मकवानपुरमा पनि कसैको शिर झुकाउने काम नगर्ने बताए । ‘ म प्रण गर्छु, तपाईले मलाई जुन रुपमा सम्मान गर्नुभएको छ, म एघार महिना सिन्धुपाल्चोकमा बसेँ, मैले तामाङहरुको कहिले पनि शिर निहुराउने काम गरिन’, उनले भने, ‘म अहिले पनि २५ लाख जनसंख्याको प्रतिनिधित्व गर्छु, म एक्लो तामाङ सिडिओ छु, म कहिल्यै पनि हजुरको शिर निहुराउने काम गर्ने छैन, म तपाईहरु सबैको शिर उचो गर्ने काम गर्छु ।’

विकट गाउँमा जन्मिएर आमाबुवा समेत निरक्षर रहेको अवस्थामा ठूलो संघर्ष गर्दै सरकारी सेवा आएको आफ्नो जीवनकथा सुनाउँदै उनले सबैलाई संघर्ष गरेर नै सफल हुने बताए । उपसचिव बन्ने क्रममा ५ पटकसम्म असफल भएको बिगतलाई सम्झँदै उनले उनले सफलता प्राप्तिका लागि सबैले कठोर परिश्रम गर्नुपर्ने बताए । साथै सबै अग्रजहरुलाई आफ्ना छोराछोरीलाई शिक्षा प्रदान गर्न पनि आग्रह गरे ।

कार्यक्रममा सिडिओ तामाङ सहित मकवानपुरको फापरबारीमा जन्मिएर कानुन सेवामा लड्दै मकवानपुर जिल्लाको सहायक जिल्ला न्यायाधिवक्ता सम्हालिरहेकी संगिता थोकर र इन्स्पेक्टर प्रदिप लामालाई सम्मान गरिएको थियो ।

नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानको अध्यक्षता तथा ३ नम्बर प्रदेशसभा सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ३ नम्बर प्रदेशसभा सांसद ओम घलान, पूर्व सांसद राजाराम स्याङ्तान, नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य सुनिल मोक्तान, केन्द्रिय सदस्य जानकी लामा, जिल्ला सचिव आत्माराम मोक्तान, हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलान, वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाईबा, वडा नम्बर १५ का वडाअध्यक्ष महारत्न लामा, गढी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बखानसिं पाख्रिन, शिक्षाविद डाक्टर गणेश बल लामा, डाक्टर धनबहादुर मोक्तान, अधिवक्ता अमृत कुमार लामा, अधिवक्ता कमल घिसिङ, नेपाल तामाङ घेदुङ भाषा तथा साहित्य संस्कृति विभाग प्रमुख काजिमान तामाङ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ महासचिव कृष्ण सारु मगर, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति अध्यक्ष जंगबहादुर तमु, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला शाखा मकवानपुर उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, तामाङ पत्रकार संघ मकवानपुर जिल्ला शाखा अध्यक्ष चन्द्र घलान, लगायतको आतिथ्यता रहेको थियो ।
–चन्द्र घलान



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०