Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सामाजिक सञ्जालमा सेताम्मे, सिमभन्ज्याङमा छैन हिउँ

मकवानपुर थाहानगर क्षेत्र २७ मंसिर विहानैबाट चिस्सियो । यहाँ विहानैबाट तापक्रम कमै थियो । २७ मंसिर विहान त झन सिमसिम पानी पनि पर्यो ।

थाहानगरको दामन क्षेत्रमा पानी पर्नु र चिसो बढ्नु दुवैकुरा मिल्दै जाँदा हिउँ पर्ने पूर्वानुमान सबैमा हुन्छ । अझ हेटौंडा काठमाण्डौंका हिउँका पारखीहरुलाई  अझ यसबारे उत्सुक हुन्छ । २७ मंसिर दिउँसो पौने ४ बजेतिर सिमभनज्याङमा चिसो सिरेटोसंगै सिमसिम पानी पर्यो । पानीसंगै मसिना असिना र हिउँ फुसफुसाए झै भो । पाखातिर सेतो देखिए, रुखका पातहरु छिरबिरे भए । सामाजिक सञ्जालमा एक्कै छिनमा छ्यापछ्याप्ती भो । ‘हिउँ पर्यो, सिमभन्ज्याङमा ...’ यस्ते यस्तै स्टाटस लेखेर । यहि स्टाटस र केही स्थानीय स्रोतलाई उदृत गर्दै खासखरेर अनलाइन मिडियाहरुमा पनि हिउँ पर्न थालिहाल्यो । ‘सेताम्मे, पानी संगै हिउँ पर्यो, जमेन, यस्तै यस्तै.. ।  

समाचार र फेसबुक स्टाटस पढेर मकवानपुरको सिमभन्याङमा परेको हिउँ हेर्न र खेल्न एक्कै छिनमा पुगेका पारखीहरुलाई न स्थानीयले देखाउन सके न त पुग्नेहरुले हिउँको अनुभव नै गर्न पाए । सिमभन्याङको यो समस्या यहाँ पुरानै हो । अलिअलि पर्न थालेपछि हिउँ पर्यो भन्ने र पुग्दा नभेटिने । 

केही सेन्टीमिटर नजम्दै हिउँ परेको हल्ला गर्नु राम्रो कुरा नभएको करुणाभूमी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बिनोद लामाले बताए । अलिअलि पर्ने वित्तिकै हल्ला गर्ने अनि पर्यटक आउँदा हिउँ नदेखिने यस्तो प्रचार गर्दा मिडिया र स्थानीयहरुको समेत विश्वासनियता माथि नै प्रश्न उब्जने अध्यक्ष लामाको भनाइ छ । 

अहिले थाहानगरको दामन सिमभनज्याङ क्षेत्रमा चिसो अत्याधिक बढेको छ । यहाँ चिसो ‘कक्रक्क’ छ  तर, सामाजिक सञ्जालमा जस्तो हिउँले टलक्क परेको भने छैन । वल्डवेदर अनलाइन डटकमका अनुसार यहाँको तापक्रम अहिले ७ डिग्री सेलसियस मापन गरिएको छ । हिउँ पर्नको लागि माइनस तापक्रम चाहिन्छ ।   
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०