Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

समयमै भवन निर्माण नहुँदा अझै टहरामै पढ्न बाध्य

हिउँदसँगै जाडोको मात्रा बढ्दैछ, संविधानले मौलिक हककै रुपमा व्यवस्था गरेको शिक्षाको हक उपभोग गरिरहेका मकवानपुरका यी विद्यार्थीहरु भने जाडोको परवाह नगरी जस्ताले बारबेर पारेको टहारामा पढ्न बाध्य छन् । २०७२ सालमा भूकम्पका कारण विद्यालय भवन क्षतिग्रस्त भएपछि जस्ताको छानोबाट कोठाभित्रै शीत चुहिने जाडो महिना होस् या हपहप हुने गर्मी महिना होस्, उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५, चखेलस्थित कालीदेवी माविका विद्यार्थीहरु यसरी नै पढ्दै आएका छन् ।

निर्माण कम्पनीले विद्यालय पुणर्निमाण सम्पन्न गर्न सम्झौतामा तोकिएभन्दा ढिला गर्दा यस वर्षको हिउँदमा पनि विद्यार्थीहरु थुरथुर काम्दै जस्ताको टहरामा पढ्न बाध्य भइरहेका हुन् । जापान अन्तरराष्ट्रिय सहयोग नियोग–जाइकाको ऋण सहयोगमा शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले २०७४ सालदेखि निर्माण शुरु गरेको भवन अहिले अन्तिम चरणमा पुगेको छ । विद्यार्थीहरु भने यही चिटिक्क परेको ठूलो भवन हेर्छन् र जस्ताको छानामुनि कपुरी क पढ्छन् ।

गौरी पार्वती निर्माण सेवा प्रालिले २०७४ साल माघ १४ गतेबाट निर्माण शुरु गरेर २०७६ बैशाखमा सम्पन्न गर्ने गरी विद्यालय पुनर्निर्माणको जिम्मा लिएको थियो । अहिले भवन निर्माण भए पनि विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण भएपछि मात्रै पठनपाठन शुरु गरिने विद्यालयका प्रधानाध्यापक मधुकर कार्कीले बताए ।

जाइकाले केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत् मकवानपुरमा ४१ वटा विद्यालयको भवन निर्माण गरिरहेको छ । मकवानपुरमा हालसम्म सरकारी र गैरसरकारी संस्थाको सहयोग गरेर २ सय ५५ वटा विद्यालय निर्माण भएका छन् । पाँच सय १६ विद्यालय रहेको मकवानपुरमा २०७२ सालको भूकम्पबाट चार सय ९ वटा विद्यालय भौतिक रुपमा प्रभावित भएका थिए ।