nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहाको दुर्गम वडालाई बजेटमा प्राथमिकता

मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि वडा तहबाट योजनाहरू ल्याउन बजेट सिलिङ छुट्याएको छ । विकासको अवस्था र विकटताका आधारमा वडाहरूलाई बजेट सिलिङ दिइएको छ । वडाहरूले टोलटोलमा पुगेर बजेटको सीमामा रहेर योजनाहरू छनोट गर्न परिपत्र गरिसकेको छ । केही वडाहरू योजना छनोटका कामहरू सुरु भइसकेका छन्।

नगरपालिकाले ३१ जेठसम्म छनोट गरिएका योजनाहरूको विवरण सम्बद्ध वडा कार्यालयलाई पठाइसक्न परिपत्र गरेका छन् । थाहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि वडा तहमा गएर योजनाको छनोटको काम सुरु गर्न थालेको छ । १२ वटै वडामा पुगेर योजना छनोटको काम गर्न लागेको हो । योजनाको छनोट गर्नका लागि सबै वडालाई बजेटको सिलिङ र योजना छनोटका आधारहरू तयार पारेर वडा तहमा पठाइ सकिएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । वडालाई दिएको जिम्मेवारी अनुसार टोलटोलमा पुगेर स्थानीयवासीको सुझाव र आवश्यकताका आधारमा मात्र योजना छनोट गर्न वडाध्यक्षसहित जनप्रतिनिधिहरूसँग आग्रह गरिएको छ। वडाले योजना छनोट गर्नका लागि बजेट सिलिङमै मार्ग दर्शन पनि पठाइएको छ । मार्गदर्शन अनुसार एउटा वडामा कम्तिमा पनि ३५ लाखबाट नघट्ने गरी एउटा योजना अनिवार्य रुपमा छनोट गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै अन्य वडालाई योजना छनोट गर्दा कम्तिमा ७ लाखको हुनुपर्नेमा वडा नं. ७, ८, ११ र १२ लाई भने कम्तिमा ५ लाखको योजना छनोट गर्न भनिएको छ । 

मार्गदर्शन अनुसार–वडा अन्तर्गतका विद्यालयका शिक्षकको तलब भत्ता, भौतिक पूर्वाधार वडामै पठाइएको बजेटबाट विनियोजन गर्नुपर्नेछ भने शिक्षा, स्वासथ्य, कृषि, पशु विकासलगायतका विषयगत बजेट र विभिन्न लक्षित कार्यक्रमका लागि पनि  नगरपालिकाबाटै विनियोजन हुने मार्गदर्शनमा उल्लेख गरिएको छ । वडा क्षेत्रका मर्मत संभार कोषका लागि पठाइएको १० लाखको ३० प्रतिशत रकम प्रवद्र्धनात्मक क्षेत्रमा र बाँकी बजेटबाट पुँजीगत शीर्षकमा खर्च गर्नुपर्ने उल्लेख गरिएको छ । वडामा कुनै गैर सरकारी स.स्थाको सहयोगमा वृहत्त योजनाहरु संचालनमा रहेको खण्डमा त्यस्ता योजनामा म्याचिङ फण्ड राख्नूपरेमा वडाले प्राथमिकता दिनूपर्ने मार्गदर्शनमा भनिएको छ । 

थाहा नगरपालिकाले आफ्ना १२ वटा वडालाई तीन वर्गमा विभाजित गरेर सिलिङ बजेट तोकेको छ । सिलिङ बजेटका आधारमा समुदायमा नै पुगेर छलफल    गरेर योजनाहरू छनोट गर्न परिपत्र  गरिसकेको हो । थाहा नगरपालिकाले १, २, ३, ४, ६, ९ र १० नम्बर वडाका लागि प्रतिवडा १ करोड, ७, ८, ११ र १२ नम्बर वडालाई प्रतिवडा १ करोड २० लाख र ५ नम्बर वडालाई १ करोड १० रुपैयाँ सिलिङ बजेट छुट्याएको नगरप्रमुख लवशेर विष्टले बताए। ‘विकासको अवस्था र विकटताको आधारमा वडाहरूलाई विभाजित गरेर सिलिङ बजेट तोकिएको हो,’ उनले भने। थाहा नगरपालिकाले ७ लाख रुपैयाँभन्दा कमको योजना छनोट नगर्न परिपत्र गरेको छ। टोल र बस्तीमा पुगेर छलफल गराएर मात्र योजना छनोट गर्न निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

यसैबीच जिल्लाको हेटौंडा उपमहानगरपालिकाले वडा तहमा जाने बजेट चालू वर्षका तुलनामा आगामी वर्षका लागि वृद्धि गरिएको छ। १९ वटा वडालाई तीन वर्गमा विभाजित गरेर बजेट छुट्याइएको छ। साविकका ११ वटा वडालाई १ करोड ४० लाख, पछि थपिएका वडालाई १ करोड ७५ लाख र विकटताका आधारमा १९ नम्बर वडालाई २ करोड २५ लाख पैयाँ बजेट विनियोजित गरिएको नगरप्रमुख हरि बहादुर महतले बताए। भौगोलिक विकटता र विशेष अनुदानका आधारमा १९ नम्बर वडालाई थप रकम दिएको नपाले जनाएको छ। हेटौंडाले सिलिङ बजेटका रूपमा १९ वटै वडामा गरेर ३० करोड ६ लाख रुपैयाँ विनियोजित गरेको छ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)