Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

सचेतना घट्दै, लैंगिक हिंसा बढ्दै

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा महिला हिंसाका घटनाहरु बढ्दै जादा समेत हिंसा बिरुद्धका कार्यक्रमहरु सून्य भएको छ । त्यसो त महिला हिंसा बिरुद्धको १६ दिने अभियान पनि केही समय अघि नै सकिएको छ । महिला हिंसा बिरुद्धको १६ दिने अभियान देशभरि चल्दा थाहा नगरमा हिंसा बिरुद्धका कुनै पनि कार्यक्रमहरु सञ्चालनमा आएन ।

हिंसाको कुरा गर्दा केही प्रतिशत पुरुषहरु पनि हिंसामा परेका छन । थाहानगरपालिका १ ओखर बजारमा रहेको घरेलु हिंसा पिडितहरुका लागि सुरक्षित अल्पकालिन आश्रय स्थलमा २०७४ बैशाखबाट हालसम्म ४१ वटा हिंसाका मुद्धाहरु आएका छन् । जसअन्तर्गत ३६ जना महिलाहरु घरेलु हिंसाका कारण आश्रय स्थलमा आएका छन् भने ५ जना पुरुषहरु रहेका छन् । २०६५ सालमा स्थापना भएको संस्थाले दैनिक ५ वटा मुद्धाहरु हेदै र मिलाउँदै आएकोमा आर्थिक अभावका कारण हिंसाका मुद्धाहरु हेर्न समस्या भएको सुरक्षित अल्पकालिन आश्रय स्थलका सदस्य एवम् मनो सामाजिक   परामर्शकर्ता तुलसा बिष्टले बताइन् ।

आर्थिक अभावकै कारण यो पटकको १६ दिने अभियानमा कार्यक्रम गर्न नसकेको उनले बताइन् । घरेलु हिंसा पिडित महिलाहरुका लागि पहिले हिंसाको मुद्धा आउँदा लत्ता कपडा च्यातिएको भए कपडाहरु दिने, चप्पल किनिदिने, खाना, बास लगायतका सेवा दिई मुद्धा नमिलुन्जेल पीडितलाई हेरचाह गर्ने गरिएकोमा हाल आर्थिक अभावका कारण १ कप चिया पनि खुवाउन समस्या भएको विष्टको भनाइ छ । हिंसा निम्त्याउने एक कारण आर्थिक समस्या भए पनि हाल अधिकाँश हिंसाका घटनाहरु मादक पदार्थ  सेवनको कारणले निम्त्याउने गरेको पाइएको छ । दिनभर घरबाहिर रही जाँड रक्सी जस्ता मादक पदार्थ सेवन गर्ने र साँझ घरमा श्रीमती कुट्ने प्रबित्ति तीब्र रुपमा बढ्दै गएको विष्टको अनुभव छ । उनले भनिन्, ‘ससाना झगडाका केसहरु थाहानगरका वडा स्तरमै रहेका निगरानी समुहमै मिलाउने गरिएको भए पनि ठुला तथा जटिल प्रकारका घटनाहरु आश्रय स्थलमा ल्याउने र त्यहाँ पनि सम्भव नभए जिल्ला स्थित सेफ हाउसमा पठाउने गरेका छौ ।’ हिंसाका घटना बढ्दै जाँदा र आर्थिक अभावका कारण जटिल समस्यालाई समाधान गर्न गाह्रो भएकाले यस बिषयमा थाहा नगरपालिकाले  आफ्नो कार्यक्रममा पार्नु पर्ने उनले औंल्याइन् ।

मकवानपरका बिभिन्न सहरी स्थानहरुमा यस बर्ष पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिला हिंसा बिरुद्धका अभियानहरु हुँदा उत्तरी मकवानपुरको थाहा नगरमा भएको यो समस्या प्रति किन ध्यान गएन त थाहा नगरपालिकाको ? जवाफमा नगर प्रमुख  लबसेर बिष्ट भन्छन् ‘कार्यक्रम गर्न १६ दिने अभियान नै आवश्यक छैन, संघ संस्थाहरु समन्वयमा आउदा कार्यक्रमहरु गर्न नगरपालिका तयार रहेको छ ।’    सस्थाले पहिला महिला तथा बालबालिका कार्यालयसंग समन्वय गर्दै कार्य गदै आएकोमा हाल स्थानीय निकायमा नै बजेट आएकोले आश्रय स्थल मार्फत नगरपालिकामा पटक पटक प्रसतव पेश  गर्दा पनि बजेट बिनियोजन नगरेको संस्थाका सदस्य तुलसा बिष्टले गुनासो गरिन् । उनको गुनासोमा सम्बोधन गर्दै नगर प्रमुख विष्ट भन्छन् ‘बजेट बिनियोजन भैसके पछि मात्र प्रस्ताव आएको कारण बजेट बिनियोजन गर्न नसकिकएको हो, अहिले पनि भर्खरै मात्र प्रपोजल आएको छ र अब बैठक मार्फत बजेटको लागि प्रयास गर्छौ ।’

‘लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौंं, कोही नछुटौं’ भन्ने मुल नाराको साथमा यस बर्षको महिला हिंसाविरुद्धको १६ दिने अभियान डिसेम्बर १० मा सम्पन्न भएको थियो । नेपालमा पनि सन् २०१० देखि यो दिवस मनाउन थालिएको  हो ।

- मञ्जरी बलामी/थाहानगर



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०