Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

शक्तिशाली बन्दै बाल संरक्षण समिति 

मकवानपुरको विभिन्न गाउँमा बालबालिकासंग सम्बन्धि समस्या पहिचान गरी समाधान गर्नका लागि स्थानीय बाल संरक्षण समितिको भूमिका प्रभावकारी बनेको पाइएको छ । बुधबार जिल्ला बालकल्याण समिती मकवानपुरको समन्वयमा मकवानपुरको हाडीखोला र चुरियाईस्थित बाल संरक्षण समितिले गरेको कार्य अनुगमनका क्रममा यस्तो पाइएको छ । 

बालसंरक्षण समिति स्थानीय रुपमा बालबालिकाको समस्या पहिचान गरी समाधान गर्न आवश्यक योजना बनाएरै लागिपरेको पाइएको हो । वि.सं.२०७२ को विनासकारी भूकम्पपछि बाल संरक्षण समितिको सक्रियतामा हाडीखोलामा एक सय ७८ जना बालबालिका जोखिममा रहेको तथ्याङ्क पत्ता लगाइएको थियो । 

जोखिममा रहेका बालबालिका मध्ये तत्काल सेवा प्रदान गर्नुपर्ने १५ जनालाई प्रति व्यक्ति नगद पाँच हजारका दरले आपतकालीन सहयोग प्रदान गरिएको थियो । बालबालिकाका क्षेत्रमा क्रियाशील बालकल्याण समाज मकवानपुरले युनिसेफ नेपालको सहयोगमा बाल संरक्षण समितीको अगुवाईमा नगद प्रदान गरी जोखिममा रहेका बालबालिकालाई संरक्षण प्रदान गरिएको थियो ।  

यस्तै, अति विपन्नतामा रहेका कारण संरक्षण आवश्यक परेका ४ जना बालबालिकाको परिवारलाई प्रदान गरिएको जिविकोपार्जन सहयोग प्रभावकारी बनेको पाइएको छ । अनुगमनमा सहभागी महिला तथा बालबालिका कार्यालय मकवानपुरका महिला विकास अधिकृत शान्ति विश्वकर्माले गैर सरकारी संस्थाको सहयोगमा गाउँमा जोखिममा रहेका बालबालिकालाई प्रदान गरिएको सहयोग प्रभावकारी रहेको बताइन् । ‘संस्थाले आफ्नो परियोजना अवधिमा रहेर सेवा प्रदान गर्ने हो । ’ उनले भनिन्, ‘संस्थाको सहयोग नपाएपनि स्थानीय रुपमा बालबालिकाको समस्या समाधानका लागि बाल संरक्षण समिति सक्रिय भइरहनु पर्दछ । ’ उनले दातृ निकायले सहयोग दिने कार्य रोकेका खण्डमा पनि गाउँमा बालबालिकासंग सम्बन्धित समस्या आइपरेमा समाधानका लागि लागिपर्न बाल संरक्षण समितिलाई आग्रह गरिन् ।

हाडीखोला स्थित बाल संरक्षण समितिले जोखिममा रहेका बालबालिकालाई आर्थिक, जिविकोपार्जन सहयोग प्रदान गर्नुका साथै विभिन्न बालअधिकार संरक्षणका लागि विभिन्न जागरणमूलक अभियान समेत सञ्चालन गरिएको पाइएको छ । समितिका संयोजक कृष्णप्रसाद पौडेलले  स्थानीय रुपमा पहिचान भएका बालश्रम, बालविवाह, बालयौन दुव्र्यबहार लगायत बालसंरक्षणका सवालमा आफूहरुले बार्षिक कार्ययोजना बनाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । उनका अनुसार बिचमै पढाई छाड्ने तथा आफू खुसी विवाह गर्ने लगायत कार्यले बालसंरक्षणका लागि हाडीखोलामा चुनौती छ । 

हाडीखोलाका लागि बालकल्याण समाजका सामाजिक कार्यकर्ता रामशरण दाहाल पनि यस्ता बाल संरक्षणका अनेक सवालमध्ये प्राथमिकीकरण गरेर योजनाबद्घ ढङ्गले लागिपर्नका लागि आफूहरुले सहजीकरण गर्ने बताउँछन् । 

हाडीखोलामा मात्रै होइन मकवानपुरको चुरियामाईमा रहेको बालसंरक्षण समितीले गरेका कार्यका विषयमा पनि बुधबार जानकारी लिइएको छ । महिला तथा बालबालिका कार्यालय, नेपाल पत्रकार महासंघ मकवानपुर, बाल संरक्षण समितिलाई सक्रियताका लागि सहजीकरण गरिरहेको बाल कल्याण समाज मकवानपुरका प्रतिनिधीले अनुगमन गर्दा बालबालिकाका सवाल पहिचान गरी स्थानीय बालबालिकाकालाई अधिकार प्रदान गर्ने कार्यमा बाल संरक्षण समिति लागिपरेको पाइएको हो । 

समितीका संयोजक सुनकेशरी रुम्बाका अनुसार चुरियामाईमा बालश्रम, जन्मदर्ता, बिचमै पढाई छाड्ने लगायत बाल संरक्षणको सवाल भएकाले योजनाबद्घ रुपमा समस्या समाधानका लागि कार्य भइरहेको छ । चुरियामाईमा प्रदान गरिएको तीन जना जोखिममा रहेको बालिकाको संरक्षकको आर्थिक सवलीकरणका लागि जिविकोपार्जन सहयोग तथा ६ जना जोखिममा रहेका बालबालिकाका लागि प्रदान गरिएको आपतकालीन सहयोग प्रभावकारी बनेको अनुगमनका क्रममा पाइएको छ । यसका साथै विभिन्न जागरणमूलक अभियानमार्फत पनि चुरियामाईमा रहेको बाल संरक्षण समितीले आफूलाई बाल संरक्षणको क्षेत्रमा आफूलाई सक्रिय राखेको सामाजिक कार्यकर्ता सानु थापा मगरले जानकारी दिए । 

स्थानीय बाल संरक्षण समितिले गरेका कार्यबारे बुझ्न महिला तथा बालबालिका कार्यालय मकवानपुरका महिला विकास अधिकृत शान्ति विश्वकर्माका साथै कार्यालयर्क सूचना व्यवस्थापन अधिकृत रवि हमाल, बाल कल्याण समाज मकवानपुरका जिल्ला कार्यक्रम संयोजक प्रकाश खतिवडा, कार्यक्रम संयोजक सुशीलराज गिरी, लेखा अधिकृत नवराज खनाल, समाजका कोषाध्यक्ष महालक्ष्मी श्रेष्ठ, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारी, समृद्घ समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ लगायतको सहभागिता थियो ।   
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०