nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

विद्युत समस्याबारे युवा संघ थाहानगरको ध्यानाकर्षण, पालुङ प्राधिकरणसँग छलफल

248775227_127654396279188-1635079102.jpg

कुनैबेला कुलेखानी जलाधार क्षेत्रका बासिन्दा सँधै उज्यालोमा, राजधानी काठमाडौँचाहिँ अँध्यारोमा भन्ने भनाइ प्रचलित थियो । अहिले यो भनाई ठ्याक्कै उल्टो भएको छ । सामान्य अवस्थामासमेत विद्युत आपुर्ति बन्द भइरहने समस्याले जलाधारबासी अहिले आक्रान्त बनेका छन् । यसबारे आफ्नो ध्यानाकर्षण भएको नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल थाहानगर कमिटीले जनाएको छ । 

युवा संघ थाहा नगरले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र पालुङलाई आफ्नो ध्यानाकर्षण पत्र नै बुझाएको छ । युवा संघ थाहानगर कमिटीका सचिब सुमन रायमाझीको नेतृत्वमा गएको एक टोलीले प्राधिकरण पालुङका प्रमुख वीरमान रास्कोटीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको युवा संघले जनाएको छ । ७ कात्तिकमा युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै कार्यालय प्रमुख रास्कोटीले आफ्नो सेवा क्षेत्रमा विद्युत आपुर्ति बन्द भइरहने समस्याले आफू चिन्तित रहेको र समस्या समाधानका लागि सम्बन्धित निकायमा पत्राचार तथा छलफल गरिरहेको जानकारी दिएका छन् । 

युवाहरुसँग छलफलको क्रममा कार्यालय प्रमुख रास्कोटाले पनि पूर्व कार्यालय प्रमुखहरुले जस्तै प्राविधिक समस्याका कारण थाहा तथा कैलाशबासीले दुःख पाइरहेको बताएका थिए । उनले मातातीर्थको लाइन मार्खु सबस्टेशनमा नजोडेसम्म समस्या हल नहुने दोहो¥याए । उनले धोर्सिङको प्रशारण लाइनले थाहा र कैलाशसमेतको विद्युतीय प्रणालीलाई धान्न नसक्ने बताए । 
 मार्खु सबस्टेशनमा मातातीर्थको लाइन जोड्न सके यस क्षेत्रको विद्युतसम्बन्धी समस्या हल हुने भनिए पनि सो सबस्टेशनमा मातातीर्थको प्रशारण लाइन कहिले जोडिन्छ भन्नेमा भने जवाफ पाउन सकिएको छैन । स्थानीय बासिन्दा,  स्थानीय जनप्रतिनिधि, स्थानीय सामुदायिक वन र प्रशारण लाइन निर्माणको ठेक्का पाएको कम्पनीबीचको समझदारीबाट लाइन तान्ने कार्य पुरा हुन सक्ने सबैको बुझाइ छ । यसबारे ठेकेदार कम्पनी, साँसद विरोध खतिवडा, थाहाका मेयर लवशेर विष्ट, इन्द्रसरोबरका अध्यक्ष जीवन लामा, सम्बन्धित वडा अध्यक्षहरु सहितको बृहद छलफल भई काम अगाडि बढाउने भनिए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन । 

मार्खु सब स्टेशन तयार भइसकेको तर मातातीर्थको लाइन नजोडिएकोले उक्त सब स्टेशनलाई गत असोजको पहिलो साता चार्ज गरी त्यहाँबाट दुईवटा फिडर निकालिएको थियो । यसो गदा ट्रिपिङ्ग र सामान्य फल्ट कम हुने तत्कालीन केन्द्र प्रमुख विनोद अधिकारीले बताएका थिए ।  
हाल ११ के.भि.लाईनलाई नै सो सब–स्टेशनमा स्वीचिङ गरी २ वटा फिडरमा बाँडेर एउटा फिडर सिधै शेरा तसर गहते हुँदै ओखरबजार निकालिएको र अर्को फिडर चित्लाङ बज्रबाराही क्षेत्रमा वितरण गरिएकोले लामो लाइनका कारण हुने समस्यामा कमी आउने कार्यालय प्रमुख अधिकारीले बताएका थिए । यसअघि धोर्सिङ्ग सब–स्टेशनबाट एउटै फिडरमार्फत् उत्तरी मकवानपुरमा लाइन सञ्चालन भइरहेको थियो । 

यसरी दुईवटा फिडर कायम गर्दा पनि समस्यामा कमी नआएपछि अब मातातर्थिबाट ३३ के.भि लाईन मार्खुसम्म नजोडे समस्या समाधान नहुने निष्कर्षमा पुगिएको छ । हाल ३३ के.भि.लाइन निर्माण कार्य मार्खुदेखि चखेलसम्म  मात्र पूरा भएकोे छ । मातातिर्थमा वनको वातावरणिय प्रभाव मूल्याङन प्रक्रिया चलिरहेको प्राधिकरणले जनाएको छ ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)