nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

विदेशबाट घर फर्किएका १६ जना इन्द्रसरोवरको निगरानीमा

Manjari-1586054549.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा विदेशबाट घर फर्किएकाहरु १६ जना रहेका छन् । हाल नेपालमा कोरोना भाइरसको संक्रमण देखिएकाहरु अधिकांश विदेशबाट घर फर्किएकाहरु नै रहेका कारण विदेशबाट आएकाहरु प्रति सबैको चासो बढेको छ । बिदेशबाट आएकाहरु के गर्दैछन् ? कहाँ छन् ? भन्ने प्रश्न त सबैको रह्यो नै तर ति व्यक्तिका कारण समाज नै संक्रमणको सिकार हुने आशंका र डरमा नागरिकहरु रहेका छन् । विदेशबाट आएकाहरु मध्ये कोही कसैलाई पनि कुनै असामान्य लक्षण देखिएको भन्ने जानकारी नआएको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताउनु भयो । यदी ती व्यक्तिहरुलाई कुनै संकेत देखिएमा सूचना गर्न र उपचारको लागी लैजानका लागि भने गाउँपालिका तयार रहेको उहाँको भनाई रहेको छ । 

इन्द्रसरोवर गाउँपालिकाले  विदेशबाट आएकाहरुलाई वडा स्तरबाट नै सम्पर्क गरी घरभित्र नै क्वारेनटाईनमा रहनका लागि अनुरोध गर्दै उनीहरुको अवस्थाको बारे दैनिक फलोअप गरिरहेको इन्द्रसरोवर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले बताउनु भयो  । कोरोनाको रोकथामका लागि गाउँपालिकाले वडा स्तर र गाउँपालिका स्तरको समिति गठन गरेको छ । यो समितिले आ–आफ्नो वडामा कर्मचारी परिचालन गरि सचेतना प्रदान गर्ने, निगरानी गर्ने लगायतका काम गरिरहेको जनाएको छ । उक्त समितिले विदेशबाट आएकाहरुको समेत सूचना संकलन र उनीहरुको अवस्थाको जानकारी प्रदानको कार्य गरिरहेको उहाँले बताउनु भयो ।

इन्द्रसरोवरको वडा नं १ मा विदेशबाट आएको व्यक्ति १ जना मात्र रहेको र उक्त व्यक्ति २ नं वडाको बासिन्दा रहेको जनाइएको छ । उक्त १ जना पनि काठमाडौँमा नै बसिरहेको र हाल सम्म कोरोनाको कुनै लक्षण नदेखिएको वडाध्यक्ष जमान सिं वाईवाले बताउनु भयो । 

गाउँपालिकाको वडा नं २ मा भने विदेशबाट आएकाहरु फागुन महिनामा अएको र आएको मितिले २०/२५ दिन भैसक्दा पनि हुनै लक्षण नदेखिएको वडा नं २ का वडाध्यक्ष राजुमान महर्जनले बताउनु भयो । वडा नं २ मा विदेशबाट आउनेहरु ५ जना रहेका छन् । ती मध्ये १ जना काठमाण्डौमै बसिरहेको छ भने अन्य सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनु भयो । उनीहरु मध्ये दुबइबाट २ जना, ओमनबाट १ जना, जापानबाट १ जना र भारतबाट १ जना रहेका छन् ।

वडा नं ४ मा मलेसियाबाट आएका २ जना रहेका छन् । ती दुबैजनाको स्वास्थ्य अवस्था समान्य रहेको वडा अध्यक्ष धनविर स्याङ्तानले बताउनु भयो । विमानबाट आएका दुईजनाको अवस्था समान्य भए पनि सूचना नभएको भारतबाट आएको भनिएको थप २ जना पनि रहेको र उनीहरुसँग सम्पर्क नभएको समेत उहाँले बताउनु भयो । 

इन्द्रसरोवरको वडा नं ५ मा पनि विदेशबाट आएकाहरु सबैमा अहिले सम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको वडा अध्यक्ष धनराज महर्जनले बताउनु भयो विदेशबाट आएकाहरु र उनीहरुका परिवारमा समेत आज सम्म कुनै संकेत नदेखिएको उहाँले बताउनु भयो । उक्त व्यक्तिहरुको ज्वरो जाँच तथा स्वास्थ्य जाँच नगरिए पनि सोधपुछ गर्दा कुनै अप्ठेरो अनुभव नभएको बताएको उहाँको भनाई रहेको छ । ५ नं वडा आउनेहरुमा मलेसियाबाट १ जना, कतारबाट १ जना, दुबइबाट ३ जना र साउदीबाट १ जना रहेका छन् ।

गाउँपालिकाको ५ वटै वडाले आफ्नो वडामा विदेशबाट आएकाहरुको निगरानी र फलोअप गरिरहेको छ । गाउँपालिकाले संकलन गरेको विवरण अनुसार विदेशबाट आएका १६ जनामा फर्किएको मितिले सबैजना १४ दिन कटिसकेका छन् । विदेशबाट आएकाहरु घरमा नै होम क्वारेन्टाईनमा रहेको र पटक पटक सम्पर्क गर्दा कुनै पनि लक्षण नदेखिएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक मन्नुनाथ अधिकारीले बताउनु भयो ।कोरोनाको चेकजाँच नगर्नुको कारण नै संक्रमितका संख्या नदेखिएको भन्ने आशंका बढिरहेको यो समयमा इन्द्रसरोवरमा भने ज्वरो जाँच्ने मेशिन नभएको कारण विदेशबाट आएकाहरुको आवश्यक चेकजाँच गर्न नसकिएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।  तर कोरोना संक्रमणको मुख्य लक्षण नै १ सय ४ डिग्री फरेनहाइट सम्म ज्वरो आउने हुँन्छ । उक्त ज्वरो नाप्ने मेशिनको खोजी कार्य तिब्र पारिए पनि कतैबाट ल्याउन नसकिएको कारण समस्या भएको गाउँपालिकाले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।