nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

वडाबासीको सुझाव–‘विकासको अनुभूति दिलाउ’

विकास निर्माणको कामलाई तीब्रता दिएर स्थानीय सरकारको प्रत्याभूति दिलाउन मनहरी गाउँपालिका ३ नं वडाबासीले आग्रह गरेका छन् । 

३ नं वडा कार्यालय छेवैमा रहेको चौतारामा मनहरी गाउँपालिका र सहयोगी हातहरुको समूह (सहास) नेपालद्वारा आयोजित तथा मनहरी एफएमको समन्वयमा भएको सार्बजनिक सुनुवाई कार्यक्रममा उनीहरुले यस्तो अपेक्षा राखेका हुन् । उनीहरुका गुनासा तथा राय सुझाव सुन्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतले आगामी दिनमा अझ परिस्कृत हुने प्रतिबद्धता व्यक्त गरे । 

सार्बजनिक सुनुवाई कार्यक्रममा धारणा राख्दै स्थानीय नवराज लुइँटेलले पर्यटनसम्बन्धी योजनाहरु बुझ्न चाहेका थिए । त्यसैगरी भुन्द्रुङकी देवकी उप्रेतीले मुलबाटोमा स्ल्याब नहाली शाखा बाटोमा के कति कारणले स्ल्याब ढलान भयो भनी प्रश्न गरेकी थिइन् । रविराज उप्रेतीले राप्तीखोलाको दोहन भइरहँदा गाउँपालिका टुलुटुलु हेरेर बस्नुको कारण के हो भनेर प्रश्न गरे । सिर्जना बिडारीले महिला र बालबालिकाको बजेट तथा कार्यक्रमबारे जिज्ञासा राखिन् । नविनकुमार रेग्मीले मनहरी गाउँपालिका ३, ४, २ हुँदै १ नं वडा पुग्ने बाटोको डिपिआर बनेपनि किन टुक्रा टुक्रा योजना निर्माण भएको भनी सोधेका थिए । 

पाल्दमारकी तारा थिङले लामो समयदेखि आफ्नो गाउँमा बिजुलीको पोल ल्याइएपनि अझैसम्म नगाडिएको हुनाले त्यो काम कसको हो भनी प्रश्न तेस्र्याइन् । शुभद्रा कुमारी प्रजाले सिद्धकालीमा कहिल्यै नपुगेको बाटो आफूहरुले पैसा उठाएर बनाएको बताउँदै अब बाटो र घरहरु जोगाउनका लागि तारजाली आवश्यक भएकाले गाउँपालिकाले दिन्छ कि दिँदैन भनी प्रश्न गरिन् । रमा उप्रेतीले पनि घर र बस्ती बचाउन तार जाली चाहिएको बताइन् । इन्दिरा उप्रेतीले तारजाली नभएकाले घर भत्किँदै बनाउँदै गर्नुपरेको सुनाइन् । 

गोपाल पौडेलले डिपिआर भएको बाटो टुक्र्याउन नहुने बताए । त्यसैगरी बिषयगत कार्यालयका प्राविधिकहरु समेत घटनादर्ताको काम गर्दै बसेको भन्दै व्यंग्य गरे । लालबहादुर सिं तामाङले खानेपानी योजना कार्यान्वयन गर्दा केही गरी पानी आएन र योजना फेल भयो भने लागेको खर्च कसले ब्यहोर्छ भनी प्रश्न गरे । जमुना रिजालले दोस्रो किस्ता लिन समस्या परेको भन्दै भूकम्पपीडितहरु समस्यामा परेको बताइन् । सीताराम ढुंगानाले बालबालिका संरक्षणमा के कस्ता योजनाहरु छन् भनी जिज्ञासा ब्यक्त गरे । बयोबृद्ध मुइँया बर्ताैलाले सामाजिक सुरक्षाभत्ता लिन मनहरी जानुपर्ने सुनेकाले समस्या आउने बताइन् । 

सबैको जिज्ञासाको जबाफ दिँदै प्रमुख प्रशासकीय अधिकृत किसान न्यौपानेले सबै कुराहरु सुधार हुँदै गइरहेको बताए । उनले आगामी दिनमा अझ अनुभवको आधारमा सुधार गर्दै विकास निर्माण योजनाको कार्यान्वयनमा लागिपर्ने बताए । गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले हालसम्म न्यायिक समितिमा ३९ वटा निवेदन परेको बताइन् । उनले हिंसामा परेका महिलाहरुको लागि आवश्यक सबै सहयोग हुने बताइन् । महिला हिंसा, महिला अधिकार, सहकारी शसक्तिकरण लगायतका तालिमहरु महिलालाई प्रदान गरिएको जानकारी दिइन् । 

अध्यक्ष एकराज उप्रेतीले गाउँपालिका निदाएर नबसेको भन्दै नदीजन्य उत्खनन्लाई नियमन गर्न लागिएको बताए । साउनदेखि मात्रै गाउँपालिकाले एक्सन लिने भन्दै अहिलेलाई नाडी छाम्ने काम मात्र भएको सुनाए । उनले सडकको डिपिआर लगायत योजना कार्यान्वयनको पक्षमा देखिएको सुस्ततालाई ध्यान दिने बताए । 

३ नं वडा अध्यक्ष मानबहादुर स्याङ्तानको सभाध्यक्षमा भएको कार्यक्रममा ३ वडा सचिव ज्ञानेन्द्र ढकालले वडाको योजना अबस्था, गाउँपालिका योजना अधिकृत दिपकराज मिश्रले समग्र गाउँपालिकाको योजना कार्यान्वयन अबस्था तथा सहास नेपालका कार्यक्रम संयोजक कृष्ण रावलले परियोजना अन्तर्गत हुने गतिविधिबारे जानकारी गराएका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)