Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

लागूऔषध कारोबारमा प्रदेश ३ मै मकवानपुर अग्रपंक्तिमा

Lagu-Ausadh-1568526190.jpg

प्रदेश ३ को लागूऔषध कारोबार हुने जिल्लाको अग्रपंक्तिमा मकवानपुर परेको छ । प्रदेशअन्तर्गतका २ जिल्लामा भने कारोबार शून्य छ ।

नेपाल प्रहरीको गत आर्थिक वर्ष (आव) को तथ्यांकले प्रदेशका अन्य जिल्लाको तुलनामा मकवानपुरमा बढी लागूऔषध कारोबार हुने देखाएको हो । प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार, गत आव ०७५/७६ मा मकवानपुरबाट लागूऔषध कारोबारमा संलग्न २ सय ८ जना पक्राउ परेका थिए । यीमध्ये १ सय ४८ जनाविरुद्ध प्रशासनले मुद्दा चलाएको छ ।

 

 

प्रदेश ३ को लागूऔषध कारोबारको दोस्रो नम्बरमा छ, चितवन । प्रहरीका अनुसार गत आवमा यो जिल्लाबाट १ सय ५९ पक्राउ परेका छन् । समातिएकामध्ये ८८ ले मुद्दा खेपिरहेका छन् ।  प्रदेश ३ कै अर्को जिल्ला धादिङमा पनि लागूऔषध कारोबार हुने गरेको छ । गत आवमा धादिङबाट ५१ जना पक्राउ परेकोमा ३१ जनालाई मुद्दा चलाएर कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

यीबाहेक प्रदेश ३ को काभ्रेबाट ३५, सिन्धुलीबाट २६, नुवाकोटबाट ६, सिन्धुपाल्चोकबाट ३ र दोलखाबाट १ जना पक्राउ परेका छन् । प्रहरीको तथ्यांक अनुसार गत आवमा रसुवा र रामेछापमा लागूऔषधको शून्य कारोबार भएको छ ।

लागूऔषधसहित पक्राउ परेकाहरूबाट गत आर्थिक वर्षमा ४ हजार ४ सय २ केजी गाँजा, १ हजार ३ सय ७० केजी चरेस, १ सय ९२ ग्राम खैरो हिरोइन, १ हजार ६ सय ७८ ग्राम अफिम प्रहरीले बरामद गरेको छ ।

यसैबीच, लागूऔषध गाँजा र चरेससहित मकवानपुरमा ५ जना पक्राउ परेका छन् । बिआर ०१ एफ ७९९८ नम्बरको भारतीय कारको एसीभित्र लुकाएर भारततर्फ जाँदै गरेको कारबाट ३ भारतीय पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत मुजफ्फरपुर जिल्ला जिरोमाईल रोड दादर बस्नै २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत शिवहर जिल्ला तरिहानी छपरा बस्ने २४ वर्षीय राजु महत्तो छन् । उनीहरूलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१५ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए ।

त्यस्तै १२ किलो ४ सय ग्राम गाँजासहित मकवानपुरको राक्सिराङ गाउँपालिका ४ कालिका दोभानबाट २ जनालाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा कैलाश गाउँपालिका ८ बस्ने २६ वर्षीय राजकुमार थिंङ र २१ वर्षीय दीपेश थिङ छन् । दुवैस्थानबाट पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ । ऐनमा लागूऔषध कारोबारमा संलग्नको प्रकृति हेरी २–१० वर्ष कैद र १५ देखि १ लाखसम्म जरिबाना हुने व्यवस्था छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०