Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

युवाले रोजे कृषिलक्षित उद्यम

बेरोजगार युवालाई उद्यमशील बनाउनका लागि सरकारले ल्याएको युवा उद्यम अन्तर्गत मकवानपुरबाट ७ वटा योजना सिफारिस भएका छन् ।सरकारद्वारा गठित जिल्ला युवा समितिले सामूहिक उद्यम गर्न चाहने युवाहरुबाट आवेदन माग गर्दा प्राप्त भएका उद्यम योजनालाई केन्द्रमा सिफारिस गरेको हो । समितिका अध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा बसेको युवा उद्यम छनौट समितिले ७ वटा योजनालाई प्राप्ताङ्कसहित सिफारिस गरिएको हो । समितिका सदस्यहरुमा जिल्ला कृषि विकास कार्यालयका प्रमुख निर्मल गदाल, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, साना तथा घरेलु उद्योग कार्यालयका प्रतिनिधि तथा जिल्ला युवा समितिका कार्यालय प्रमुख शम्भुप्रसाद पौडेल रहेका छन् । जिल्ला युवा समितिले सिफारिस गरेका कार्यक्रमको केन्द्रले समेत ती योजनाहरुको सुक्ष्म अध्ययन गरी निर्णय गर्ने बताइएको छ । 

सिफारिस भएका सबै उद्यमका कार्यक्रमहरु कृषिमा आधारित छन् । बाख्रापालन, कुखुरापालन, किबी खेती, तरकारी खेती, च्याउखेती र मौरीपालनका बिषयमा युवाहरुले सामूहिक रुपमा उद्यम गर्न चाहना राखी जिल्ला युवा समितिमा निवेदन दिएका थिए । विभिन्न ८ वटा विधामा निवेदन दिन पाइने उल्लेख भए पनि युवाहरुले कृषि र पशुजन्य उद्यममा ध्यान दिएको अध्यक्ष चौलागाईले बताए । 

हरेक निर्बाचन क्षेत्रमा ५० प्रतिशत महिला युवा सहभागिता रहने गरी कम्तीमा १० जना युवाले समूह निर्माण गरी सरकारले सञ्चालन गर्न लागेको युवा उद्यम कार्यक्रममा सहभागी हुन पाउने प्रावधान छ । यसका लागि दर्ता भएको पूरानै समूह वा संस्थाहरुबाट प्रवद्र्धित समूहलाई मान्यता दिइएको छ । ती समूह वा संस्थाले ५ बर्षे उद्यम योजना र बजेटसहित युवा समितिमा प्रस्तावना पेस गरेका छन् । 

सिफारिस भएका योजनाहरुलाई केन्द्रले समेत प्रमाणित गरी पठाएमा एउटा समूहलाई ५ लाख रुपियाँ युवा समितिको तर्फ लगानी हुनेछ । जसमध्ये २ बर्षसम्म उद्यमको अनुगमन मात्र हुनेछ भने तेस्रोबर्ष २० प्रतिशत लगानी फिर्ता गर्नुपर्नेछ भने चौथो बर्ष ३० प्रतिशत र पाँचौ बर्ष बाँकी ५० प्रतिशत रकम युवा समितिलाई नै फिर्ता गर्नुपर्ने प्रावधान छ । ‘त्यसरी फिर्ता गरिएको रकम पुनः अर्काे समूहलाई लगानी गरिनेछ’, अध्यक्ष चौलागाईले भने–‘हरेक युवालाई समूहमा आबद्ध भएर उद्यम गरुन् र कोही पनि विदेश जानुपर्ने अबस्था नआओस् भन्नका लागि सरकारले यस्तो कार्यक्रम ल्याएको हो ।’