nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

युवाको पहलमा स्वास्थ्य केन्द्रमा बिजुली

सार्वजनिक निकायबाट प्रदान हुने सेवालाई दरिलो बनाउनको लागि मकवानपुर मनहरीका युवाहरुले नमुना काम गरेर सघाएका छन् । मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा डेढमहिनाअघि काटिएको बिद्युत सेवा स्थानीय मनकारी युवाहरुको पहलमा पुनः सुचारु गरिएको छ । 

मनहरीका जागरुक युवाहरुले रकम संकलन अभियान सञ्चालन गरी बक्यौतामध्येको २ लाख रुपियाँ महसुल बुझाएपछि विद्युत जडान भएको हो । जरिबाना तथा हर्नाना समेत गरी प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य केन्द्रको आवाससमेत प्रयोग गरिएको बिजुली बक्यौता तथा जरिबाना समेत गरी कूल ४ लाख ७० हजार तिर्न बाँकी भएकाले नेपाल विद्युत प्राधिकरणले लाइन काटेको थियो । लाइन काटेपछि अन्धकारमा आकस्मिक सेवा दिँदै आएको स्वास्थ्य केन्द्रको बिजोग देखेपछि युवाहरुले प्रतिव्यक्ति ५ हजार रुपियाँ संकलन गरी बक्यौता मिलान अभियान संचालन गरेका थिए । उनीहरुले मनहरी स्वयम्सेवक समूह नामक संगठन निर्माण गरी रकम जुटाएका थिए । 

समूहले स्थानीय मनकामना सामुदायिक वन उपभोक्ता समूह, मनहरी युथ भिजन, स्थानीय क्रसर उद्योगहरु तथा स्वास्थ्य केन्द्रले नेपाल रेडक्रस सोसाइटी मनहरी उपशाखालाई दिएको सापटी समेत फिर्ता गर्न पहल गरी रकम संकलन गरेको हो । त्यसका साथै प्रतिव्यक्ति ५ हजार रुपियाँका दरले रकम संकलन गर्दा प्राप्तमध्ये २ लाख रुपियाँ बक्यौता बुझाइएको समूहका संयोजक ठाकुरराम तितुङले बताए । 

बिहिबार स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डाक्टर फिरोज राइन, समूहका सदस्य एबम् प्राथमिक स्वास्थ्य केन्द्र सुधारका अभियन्ताहरु नवीन सुवेदी र शिवकुमार काशीले हेटौँडास्थित प्राधिकरणमा पुगी महसुल बुझाएका हुन् । महसुल बुझाएलगत्तै प्राधिकरणले अबरुद्ध गरेको विद्युत सेवा सुचारु गरेको स्वास्थ्य केन्द्रका इन्चार्ज सिनियर अहेव टिकाराम अधिकारीले बताए । 

समूहले बाँकी रहेको बक्यौता रकम तिहार लगत्तै तिर्ने जनाएको छ । उसले स्वदेश तथा विदेशमा रहेका मनहरीका युवाहरुसँग प्रतिव्यक्ति ५ हजार रुपियाँ संकलन गर्ने अभियान जारी राखेको छ । यो अभियान कोरियामा समेत सञ्चालन भइरहेको छ । भौतिक अस्तब्यस्तता तथा स्वास्थ्य सेवाको गुणस्तरीयताका लागि पनि समूहले आर्थिक संकलन गरी प्रत्यक्ष निगरानीमा स्वास्थ्य केन्द्रलाई सुधार गर्ने प्रतिबद्धता जनाएको छ । समूहले स्वास्थ्य केन्द्र सहयोग तथा व्यवस्थापन समितिसँग समन्वय गरी स्वास्थ्य केन्द्र सुधार अभियान चलाएको हो । यो काममा मनहरीका सयौँ युवाहरु, राजनीतिक नेतृत्व तथा स्थानीय अगुवाहरुको साथ रहेको समूहका सदस्य शिवकुमार काशीले बताए । प्रतिब्यक्ति ५ हजार रुपियाँ सहयोग गर्ने दाताहरुलाई सम्मान र शिलालेखमा समेत नाम राखिने जनाइएको छ । 

बिगत ८ बर्षदेखि सहयोग तथा व्यवस्थापन समितिले स्वास्थ्यकर्मीलाई काम लगाउने तर पारिश्रमिक नदिने गरेकाले आकस्मिक सेवाबापतको रकम तथा बिजुली महसुल समेत गरी १३ लाख रुपियाँ ऋण स्वास्थ्य केन्द्रलाई ऋण लागेको छ । स्वास्थ्य केन्द्र अस्तव्यस्तसँगै ऋणमा डुबेपछि लगातार नेतृत्व गर्ने नेतृत्वमाथि मनहरीमा आलोचना गरिएको छ । समितिले बार्षिक साधारण सभा समेत गर्न सकेको थिएन ।