Tuesday, 17th March, 2026
वि.स.

म्याद गुज्रिएपछि नयाँ मिति राखिएका सामान दुई वर्षदेखि बजारमा

खाद्य वस्तुमा पुरानो उपभोग्य मिति मेटेर नयाँ मिति राखिएको प्रकरणमा पक्राउ परेका भारतीय नागरिक रोनक बोथराले ‘रिलेबलिङ’ गर्ने कार्य दुई वर्षदेखि गरिरहेको बयान दिएका छन् ।

उनले बजारमा म्याद सकिएको वस्तु सस्तोमा किनेर ल्याई नयाँ मिति राखेर बजारमा बिक्री गर्ने गरेको बयान दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । बिभागका अनुसार, बोथराले ‘डेढ–दुई वर्षदेखि यो काममा म मात्र संलग्न छु’ भनेका छन् ।

उनले आफू आयान डिष्ट्रिब्यूटरको म्यानेजरको रुपमा नियुक्त भएको र कम्पनीले खरिद–बिक्री भएका सामानहरुको बजारबाट भुक्तानी लिने, सेल्स एकाउण्ट रेखदेखको जिम्मेवारी दिएको बयान दिएका छन् । आयान डिष्ट्रिब्यूटरकी सञ्चालिका पुष्पादेवी अग्रवालले कम्पनी आफ्नो नाममा भए पनि कारोबार नगरेको बताएको बिभागले जनाएको छ । बिभागका अनुसार, प्रहरीले पक्राउ गरेपछि मात्र कम्पनीमा त्यस्तो काम हुने गरेको थाहा पाएको अग्रवालको बयान छ ।

नयाँ म्याद राखेर सामान बजारमा पठाइँदै गरेको अवस्थामा रङ्गेहात पक्राउ परेका कामदार मुन्ना ठाकुरले भने आफू आयान डिष्ट्रिब्यूटरमा तीन वर्षदेखि काम गर्दै आएको र पहिलो पटक कलंकी गोदाममा पुगेकै दिन समातिएको बताएका छन् । अर्का कामदार विक्रम कुमार गुप्ताले आफूलाई कम्पनीमा रिलेबलिङ हुने कुरा थाहा नभएको बयान दिएको बिभागले जनाएको छ । त्यस्तै, कामदार पुष्पकुमार ठाकुरले नयाँ मिति राख्ने मेशिन चलाउन सिकाउने गरेको बताएका छन् ।

अर्का कामदार रामबहादुर बयलकोटीले म्याद सकिएको वस्तुमा नयाँ मिति राखेर बिक्री गर्न बजार लैजाने गरेको स्वीकार गरेका छन् । उनले थाहा पाएरै त्यस्तो बस्तु बिक्रीे गरेको बताएको बिभागको भनाइ छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०