nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भूकम्पले बझाङमा दर्जनौं घर भत्किए, स्थानीय त्रसित

Bajhang-Bhukampa-2-1696330779.png

बझाङ केन्द्रविन्दू भएर १६ असोज आज मंगलबार गएको शक्तिशाली भूकम्पपछि सर्वसाधारण त्रसित बनेका छन्  । बझाङ सदरमुकाम चैनपुरका कैयन पक्कीघरहरु चर्किएको स्थानीय पत्रकार सम्राट सिंहले जानकारी दिए । ‘कैयन घरहरु चर्किएका छन्, ग्रामीण क्षेत्रमा कहाँ के भयो क्षतिको कुनै विवरण आइसकेको छैन’, उनले भने । 

यद्यपि ग्रामीण क्षेत्रमा ठाउँठाउँमा घरहरु भत्किएको खबर आएको उनले बताए । उनका अनुसार हालसम्म मानवीय क्षतीको कुनै विवरण भने आइसकेको छैन । 

स्थानीयका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर २ स्थित महालिंग आधारभूत विद्यालय भवन भत्किएको छ । भूकम्पपछि स–साना पराकम्पहरु समेत आइरहेकाले त्रासको अवस्था देखिएको छ । व्यवसायीहरुदेखि सर्वसाधारणसम्म अहिले खुला ठाउँमा भेला भएर बसिरहेको पत्रकार सिंहले जानकारी दिए । 

स्थानीयका अनुसार अहिलेसम्म भूकम्पबाट दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहका अनुसार भूकम्पले पहिरो आउँदा जय पृथ्वी राजमार्ग समेत अवरुद्ध भएको छ । पहिरोमा परेर २ जना घाइते भएको प्रहरी प्रमुख शाहले बताए ।

जिल्ला प्रहरी कार्यालयको भवन चर्किएको र तालकोट गाउँपालिकाको गाडीमा समेत क्षति भएको शाहले बताए ।

मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६।३ म्याग्निच्युडको भूकम्प गएको हो । 

दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५।३ म्याग्निच्यूटको भूकम्प गएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)