Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर मुलुककै चट्याङग्रस्त जिल्लामा सूचीकृत

Bipad-1588036100.jpg

सरकारले ५ वटा जिल्ला तथा ती जिल्ला हुँदै घेरिएका थप ३ भुभागलाई चट्याङग्रस्त क्षेत्रको सूचीमा राखेको छ । हरेक वर्ष चट्याङबाट हुने मानवीय तथा भौतिक क्षति र घटना संख्यालाई आधार मानेर सरकारले केही दिनअघि मात्रै चितवन, मकवानपुर, झापा, मोरङ र उदयपुरलाई चट्याङ ग्रस्त जिल्लामा समेटिएको हो । 

चुरे तथा पर्वतीय क्षेत्रको पूर्वदेखि पश्चिमसम्म, नारायणी नदीको दुवै तर्फको तटीय भुभाग तथा झापा र मोरङ सीमा जोडिएका उत्तर–दक्षिण भुभागलाई पनि उच्च चट्याङबाट जोखिमयुक्त क्षेत्रमा राखिएको छ । यससँगै यो क्षेत्र अन्तर्गत बसोबास गर्ने मानिसले चट्याङबाट बच्न सबैभन्दा बढी सावधानी अपनाउनु पर्ने पनि देखिएको छ ।

गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले केही दिनअघि मात्रै ५ जिल्ला र तीनवटा भुभागलाई चट्याङग्रस्त क्षेत्रका रुपमा घोषणा गरेर रोकथाम तथा क्षति न्युनीकरणको तयारी थालिएको बताए । हटस्पट क्षेत्र घोषणा गर्नुअघि प्राधिकरणका अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बसेर छलफल गरेका थिए । प्राधिकरणले नेपालका चट्याङग्रस्त क्षेत्रलाई बढी जोड दिएर ‘इलेक्ट्रोनिक म्यापिङ नै उतारेर अध्ययन थालेको छ । ‘हरेक वर्ष चट्याङबाट हुने मानवीय र भौतिक क्षतिको विवरण तथा घटनाको अध्ययन/अनुसन्धान गर्दा नेपालका ५ जिल्ला, त्यससगै जोटिएका नदीका दुवै तटीय क्षेत्र तथा चुरेपर्वतका पूर्वदेखि पश्चिमसम्मको भुभाग बढी जोखिमयुक्त रहेको पायौं,’ पोखरेलले भने, ‘त्यसकै आधारमा यी क्षेत्रलाई हटस्पट घोषणा गरेर प्राकृतिक विपद् व्यवस्थापनमा आवश्यक बनाउन लागिएको छ ।’ नेपाल विश्वमै चट्याङको उच्च जोखिमयुक्त क्षेत्र रहेको उनले बताए । चट्याङ प्राकृतिक विपद भएका कारण आकाश गड्गडाउने तथा बढी जोखिमयुक्त समयमा घरबाहिर ननिस्कन उनले सबैलाई सुझाव दिए ।

चैतदेखि असारसम्म सबैभन्दा बढी चट्याङ पर्ने समय हो । यसमध्ये पनि वैशाख १ देखि १५ गतेको बीच विश्वभर नै चट्याङको जोखिमयुक्त समयका रुपमा लिइने उनले बताए । चट्याङबाट हुने मानवीय र भौतिक क्षति न्युनीकरणकै लागि भवन संहितासमेत संसोधन गर्न आवश्यक रहेको उनले बताए । ‘चट्याङबाट बच्न घरबाहिर ननिस्कन, खुल्ला चौर, नदी तथा पोखरी, रुख आसपास नबस्ने, विद्युत्तीय सुचालक हुने भौतिक संरचनाबाट टाढै रहने तथा घरमा रहेका विद्युत्तीय सुचालकमा अनिवार्य अर्थिङ लगायतका उपाय हुन्,’ उनले भने, ‘यसबाट जोखिन सबैभन्दा बढी प्रभावकारी चाहिँ यससम्वन्धि जनचेतना नै हो ।’ चट्याङका कारण हरेक वर्ष १ सय भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ ।

विद्युतीय सामानमा अर्थिङ गरिए चट्याङको जोखिम कम हुन्छ । अर्थिङ नगरिएका विद्युतीय उपकरणमा चट्याङ परेको स्थानबाट १० किमि टाढा सम्मको त्यसको करेन्ट प्रवाह हुनसक्छ । जसका कारण विद्युतीय सामानमा क्षती पुग्नुका साथै त्यसले विद्युत् सर्ट भई अनागलाग पनि हुनसक्छ ।

सोही कारण देखाएर प्राधिकरणले अब भवन आवास तथा कार्यालय प्रयोजन र अन्य भौतिक संरचना निर्माण गर्दा नै आकाशदेखि जमिनसम्म विद्युत्तीय सुचालक हुने उपकरणमा अनिर्वार्य अर्थिङ गर्नै पर्ने प्रावधान राख्नुपर्ने सुझाव दिएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

Bipad-1588036103.jpg