nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुर पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी

मकवानपुरको हेटौडा–१४ पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी थालिएको छ । एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न विहीबार नागरिक उड्ययन प्राधिकरणको एक टोलीले स्थानीयसँग छलफल गरेको हो । नेपाली काँग्रेस मकवानपुरका सभापति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित प्राधिकरणको टोलीले स्थलगत अवलोकन गरी स्थानीयसँग छलफल गरेको छ ।

जाडोयाममा सिमरा र भरतपुर एयरपोर्टमा हुस्सुका कारण उडान नहुने भएकाले बैकल्पिक र विपदको समयमा उद्धारका लागि आकस्मिक एयरपोर्टको रुपमा निर्माण गर्न लागेको राज्यमन्त्री बानियाँले बताउनुभयो ।‘मकवानपुरमा रहेको रेल मार्गको सम्भव्यता रहेको, बीरगंज भन्सार, आधा दर्जन सडक सञ्जाल, बस्ति विकास, औद्योगिक क्षेत्र लगायतका संरचनाका कारण पनि मकवानपुरमा एयरपोर्ट आवश्यकता छ ।’ 

उहाँले भन्नुभयो –‘स्थानीयको साथ लिएर पदमपोखरीमा एयरपोर्ट बनाउने मेरो अठोट छ र बन्छ ।’ छलफलमा स्थानीयले देशकै केन्द्र भागमा रहेको मकवानपुर पूर्वपश्चिम राजमार्ग, कान्तिलोकपथ, धरान–चतरा जस्ता ठूला सडक सञ्जाल रहेको र दुईवटा औद्योगिक क्षेत्र रहेकाले एयरपोर्टको आवश्यकता रहेको बताएका थिए । प्राविधिक टोलीले एयरपोर्टको १.५ किलोमिटर रन–वे र २५ सय मिटर चौडाई रहने बताए । काठमाण्डौंको विमान डाईभर्ट गर्न कम्तिमा ४ किलोमिटर रनवे आवश्यक पर्ने जानकारी गराएको थियो । एयरपोर्टका लागि ७५ करोड देखि १ अर्ब रुपैँया लाग्ने प्राविधिक टोलीको भनाई छ ।

छलफलमा मन्त्रालयका निमित्त सचिव सुरेश आचार्य, नागरिक उड्डयन मन्त्रालयका नायव महाप्रवन्धक राजकुमार क्षेत्री, प्रमुख ईन्जिनियर धु्रव बछिवयाले एयरपोर्टको सम्भाव्यताबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण शर्मा दुवाडी, स्थानीय विकास अधिकारी नारायण मैनाली, मकवानपुरका प्रहरी प्रमुख बसन्तकुमार लामा, नेपाली काँग्रेस जिल्ला सचिव बुद्ध लामा, नगर सभापति आनन्दराम पराजुली, गंगा चौलागाई, चम्फुरत्न लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।