Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुर थाहानगरमा तीन वर्षे इन्द्रायणी मेला

IMGL0341aaa-1576376431.png

मकवानपुरको थाहा नगरस्थित इन्द्रायणी चौरमा तीनवर्षे मेला सकिएको छ । तीनदिन अघि २६ मंसिरबाट शुरु भएको मेला सकिएको हो । तान्त्रिक विधिबाट संचालन गरिने जात्रा तीन दिनसम्म सञ्चालन भएको थियो । 

किंवदन्ती अनुसार सत्य युगमा देवगण र दैत्यगणबीच युद्ध हुँदा दैत्यगणले देवगणलाई पराजित गरेपछि देवीदेवताको भागाभाग हुँदा इन्द्रायणी तत्कालीन समयमा १६ घर रहेको नेवार वस्तीमा लुक्न आएकी थिइन् । अत्यन्त सुन्दरी बालिकाको रुपमा आएकी इन्द्रायणीलाई नेवार समुदायले बास नदिएपछि नजिकै रहेको देउला समुदायले बास दिएका थिए । त्यसै बेलादेखि इन्द्रायणीको मुर्ति देउला गाउँमा राखी जात्रा चलाउँदै आएको किंवदन्ती रहेको स्थानीय श्यामभक्त श्रेष्ठ बताउँछन् ।

पहिलो दिन पालुङका देउला र नेवार समुदायले गणेश, कुमारी, इन्द्रायणी, कालाभैरव र गोपाली गाउँबाट सेती गणेशको रथ इन्द्रायणी चौरमा बोकेर ल्याउँछन् । रातभर मन्दिरमा बलिसहित पूजा हुन्छ । राति नै पञ्चबलि पनि दिइन्छ । दोस्रो दिन उक्त क्षेत्रका अधिकांश बासिन्दाले बोका, भाले र राँगाको बलि चढाउँछन् । तेस्रो दिन रथ फिर्ता लगेपछि मेला सकिन्छ । नगरपालिकाले मेला सञ्चालन गर्न दुई लाख रुपैयाँ उपलब्ध गराएको स्थानीय श्याम श्रेष्ठले बताए । इन्द्रायणीमाई भगवती कालाभैरव गुठी संरक्षण समितिको व्यवस्थापनमा जात्रा सञ्चालन हुन्छ ।

इन्द्रायणी चौरमा पहिले गुठी व्यवस्था अन्तर्गत सञ्चालन हुने जात्रा पछिल्लो समयमा गुठीको जग्गा रैतानमा परिणत भएपछि जात्रा संकटमा पर्दै आएको   छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०