nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा आफ्नैबाट बलात्कार

Rape-1626532978.jpg

घरमा एक्लै भएको अवस्थामा आफ्नै फुपाजुबाट भीमफेदी गाउँपालिकाको इपापञ्चकन्याकी १४ वर्षीया बालिका बलात्कृत भइन् । गत भदौको यो घटनाका आरोपित २८ वर्षका सिंहबहादुर थिङलाई पक्राउ गरेर प्रहरीले कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको छ । गत कात्तिकमा हेटौंडा उपमहानगरपालिका–८ की ४ वर्षकी छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ परे । ती बालिकाले शिक्षकलाई बताएपछि घटना बाहिर आएको हो ।

बालबालिकाको संरक्षण, सहभागिता र विकासको क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न काम भइरहेको दाबी गरिए पनि परिवारका सदस्य र आफन्तबाटै बालिका बलात्कृत हुने क्रम बढ्दो छ । जिल्लामा गत आर्थिक वर्षमा ८१ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भए । जसमध्ये १८ वर्षमुनिका ३३ बालिका छन् । ५–१६ वर्ष उमेर समूहका २१ जना बलात्कृत भएकोमा अधिकांश बालिका परिवारका सदस्य र आफन्तबाटै पीडित बनेको तथ्यांक छ । गत आवमा बलात्कृत हुनेको संख्या अघिल्लो वर्षको भन्दा दोब्बरले बढेको छ । अघिल्लो आवमा ४७ बलात्कारका घटना दर्ता भएकामा १६ वर्षमुनिका मात्रै १२ जना बालिका थिए । अनेक लोभलालच देखाएर छिमेकीबाटै अबोध बालिका बलात्कार हुने क्रम पनि बढेको देखिन्छ ।

हेटौंडा उपमहानगरपालिका–१५ का २८ वर्षीय जयराम रुम्बाले छिमेकीको घरमा आश्रय लिएर बसेकी ८ वर्षीया बालिकालाई कात्तिक १७ मा बलात्कार गरे । ती बालिका रुम्बाकै छोरीसँग खेल्न उनको घरमा आएकी थिइन् । भोगटे खान दिन्छु भनेर फकाएर उनले बालिकालाई कोठामा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । बलात्कारपछि उनले बालिकाको स्तन टोकेर घाउ बनाइदिएका थिए । पछि ती बालिका रगताम्य भई अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै हेटौंडा अस्पताल हुँदै भरतपुर लगेर उपचार गरियो । बालिका अहिले पुरुष देख्ने बित्तिकै डराउने गरेको माइती नेपाल हेटौंडाकी प्रमुख माया लामाले बताइन् । ‘उनी विक्षिप्त अवस्थामै छिन्,’ उनले भनिन् । आरोपित रुम्बालाई प्रहरीले पक्राउ गरेर कारबाही अघि बढाएको छ ।

त्यसैगरी, वाग्मती गाउँपालिका–१ राईगाउँका २२ वर्षीय रामबहादुर विकले रक्सीको उन्मादमा साढे ८ वर्षकी बालिकालाई बलात्कार गरे । हेटौंडा चुरियामाईका १८ वर्षीय सानुलाल गोलेले ११ वर्षीया बालिकालाई पैसा दिन्छु भनेर लोभ्याएर बलात्कार गरेको खुल्यो । चुरियामाईका २५ वर्षीय रामबहादुर स्याङ्बो ९ वर्षीया बालिकालाई मुख थुनेर र हटियाका शुक्र रिजाल १२ वर्षीया बालिकालाई ५ रुपैयाँ दिन्छु भन्दै फकाएर बलात्कार गरेको आरोपमा पक्राउ परे । ‘ग्रामीण क्षेत्रमा गरिबी, अशिक्षा र अभिभावकको संरक्षण अभावले बालिकाहरू बलात्कृत हुने गरेका छन्,’ जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रमुख चुडा खड्काले भनिन्, ‘सहरमा कुसंगत र आपराधिक मनोवृत्तिका कारण बालिकाहरू बलात्कृत भएका छन् ।’

अनुसन्धान प्रतिवेदन हेर्दा परिवारका सदस्य, छिमेकी, आफन्त तथा आपराधिक प्रवृत्तिका व्यक्तिले डर, धम्की तथा प्रलोभनमा पारेर धेरैजसो बालिका बलात्कार गर्ने गरेको पाइएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले बताए । गत आवमा दर्ता भएका अधिकांश बलात्कार घटनाका आरोपितहरूलाई पक्राउ गरिएको उनले दाबी गरे । ‘अदालतले पनि कसुर ठहर गर्दै धेरेलाई हदैसम्मको दण्डसजाय गरेको छ,’ उनले भने । ‘बालिका बलात्कार गर्नेलाई समाजले दुत्कार्नुपर्छ र राज्यले कडाभन्दा कडा कारबाही गर्नुपर्छ,’ माइती नेपाल हेटौंडाकी प्रमुख लामाले भनिन्, ‘पीडितलाई गाउँ र परिवारमा पुनःस्थापना गराउन सबै पक्षले सकारात्मक सहयोग पुर्‍याउनुपर्छ ।’ कान्तिपुर दैनिकबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)