Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरगढीमा जागरण ल्याउँदै टोल विकास संस्था

bidur-humagai-lokkhabar-1572519607.jpg

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका टोल विकास संस्था समाज विकास तथा जागरणका लागि प्रभावकारी बनेका छन् ।  मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर १ देखि ९ नम्बर वडामै गठन भएका विभिन्न टोल विकास संस्था स्थानीय विकास तथा सामाजिक जागरणको कार्यमा प्रभावकारी बनेका हुन् । 

मकवानपुरगढी वडा नम्बर ६, आमभञ्ज्याङ, घोप्टेबेशीमा रहेको नवदुर्गा टोल विकास संस्थाले समुदायमा विकास, सुशासनका लागि प्रभावकारी भूमिकामा सक्रिय छ । नवदुर्गा टोल विकासको प्रसंशनीय कार्यप्रति मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले खुशी व्यक्त गर्छन् । संस्थाको पहिलो वार्षिकोत्सवका अवससरमा कार्यक्रमका प्रमुख अतिथी रहेका अध्यक्ष हुमागाईंले स्थानीय विकास तथा जनसरोकारका कार्य गर्न टोल विकास संस्थाले आपसमा समन्वयको कार्य गरेको बताउँछन् । ‘टोल टोलका जनताका चाहना तथा आवश्यकता टोल विकासमा नेतृत्व गर्नेले बुझ्छन् र जनप्रतिनिधीसमक्ष आइपुग्छ ।’ अध्यक्ष हुमागाईंले भन्छन्, ‘सबै टोलमा जन प्रतिनिधी पुग्न नसकिरहेको अवस्थामा टोलका नागरिकसंग सम्बन्ध विस्तारका लागि टोल विकास संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । 

गाउँपालिकाले तय गरेको ‘मकवानपुरगढीको आधार ः शिक्षा, कृषि, पर्यटन र पूर्वाधार’ नारालाई सार्थकता दिनका लागि गाउँमा रहेका टोल विकास संस्थाले विशेष भूमिका निर्वाह गर्नुपर्ने उनी बताउँछन् । विगतमा गाउँमा दुःखका बेला संघर्षले जीवन गुजारेकाहरु अहिले गाउँमा विकासको लहर आउँदा गाउँ छाड्न थालेको पाइएकाले यसतर्फ टोल विकास संस्था गाउँ बनाउँने अभियानमा लाग्नुपर्ने हुमागाईंको जोड छ । ‘हिजो बाटो, खानेपानी, बिजुलीको अभावमा दुःखदायी दैनिकी गुजारेकाहरु आज विकास भएको गाउँबाट शहरतिर बसाई सर्दैछन् । ’ हुमागाईं भन्छन्,‘आफ्नो गाउँमा आएको विकासको लहर हेरेर खुशी हुनुपर्ने बेलामा धमाधम गाउँ छाड्नेलाई गाउँमै अवसरको सम्भावना देखाउँने कार्यमा टोल विकास संस्थाले आफूलाई क्रियाशील राख्नुपर्छ ।’  

गाउँपालिकामा कृषि, पर्यटन लगायतको राम्रो सम्भावना रहेकाले आफ्नो तर्फबाट गर्न सकिने सहयोग गर्न तयार रहेको उनी बताउँछन् । गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष टिका दहाल पनि स्थानीय सवालमा टोल विकास संस्थाको भूमिका उदाहरणीय भइरहेको बताउँछन् । ‘टोल टोलबाट माग भई आएका विभिन्न योजनामा हामीले बजेट विनियोजन गरी कार्यान्वयनमा लाग्ने गर्छौ । ’ वडा अध्यक्ष दहाल भन्छन्, ‘समग्रमा टोलको विकासका लागि आवश्यक कार्यमा टोल विकास संस्था हुनुपर्नेमा नवदुर्गा टोल विकास संस्थाले आफ्नो कार्य गरिरहेको छ ।’ 

टोल विकासको सिफरिसमा वडा कार्यालय तथा गाउँपालिकाका तर्फबाट स्थानीय नागरिकलाई स्वास्थ्य, शिक्षा, कृषि लगायत क्षेत्रमा आवश्यक सहयोग गर्ने गरिएको दहाल बताउँछन् । उनले वडामा अब खानेपानी र बिजुलीबत्ती अभाव नहुने बताउँछन् । नागरिकका दैनिक जन जीवन सहजताको बाटोमा लैजानका लागि टोल विकास संस्थाहरु प्रभावकारी माध्यम बनेको उनको भनाई छ । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)