Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहाको कुन्छाल सहित तीन गाउँ पर्यटकीय गन्तव्य घोषणा

ऐतिहासिक गोपालीहरुको बसोबास रहेको मकवानपुर थाहा नगरपालिकाको कुन्छाल गाउँ सहित नेपालका तीन उत्कृष्ट पर्यटकीय गन्तव्य घोषणा भएको छ । ३८ औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटन बोर्ड काठमाण्डौमा ९ असोजमा भएको एक समारोहमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले तीन नयाँ गाउँलाई पर्यटकीय गाउँ घोषणा गरेको हो । कुन्छाल थाहा नगरपालिका वडा नम्बर १ मा पर्छ । घोषणाको प्रमाणपत्र ९ असोजमा वडा अध्यक्ष हेरमान गोपालीले ग्रहण गरेका हुन् ।

भिटोफले मकवानपुरको कुन्छाल सहित स्याङजा पित्लेक र धादिङको सिद्धलेक सलाङलाई पर्यटकीय गाउँको रूपमा घोषणा गरेको भिटोफ नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले बताए । छनोटमा परेका उत्कृष्ट पर्यटकीय गन्तव्यहरुको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले घोषणा गरेका हुन् । थाहा नगरपालिकाको कुन्छाल सन् २०१८ का लागि पर्यटकीय गन्तव्य घोषणा गरिएको हो । 

नेपालकै पुरानो जाती गोपालीहरुको बसोबास रहेको कुन्छालमा नेवारी संस्कृति हेर्न र जान्न पाइन्छ । कुन्छालमा अहिले होमस्टेहरु समेत संचालनमा रहेको छ । 

भिटोफ नेपालका अध्यक्ष सापकोटाका अनुसार भिटोफले हरेक वर्ष ३ गाउँलाई पर्यटकीय गाउँको रूपमा घोषणा गर्ने र प्रवद्र्धनदेखि प्याकेज बनाउनेसम्मका काम गर्दै आएको छ । भिटोफको कार्यसमितिले देशभरबाट प्राप्त गाउँहरूमा सम्भावनाको अध्ययन गरि उत्कृष्टताको आधारमा तीन वटालाई छनोट गर्ने गर्दछ ।

गाउँ घोषणा गरिसकेपछि प्रबद्र्धन र प्याकेज बनाउनु पर्ने र सोही अनुरूप पर्यटकले पनि मन पराउने खालको हुनु पर्ने मापदण्ड रहेको छ । 
यसअघि भिटोफले तनहुँको दुम्सी दराही गाउँ, कन्चनपुरको भादागाउँ र हुम्लाको गुराँसे गाउँलाई सन २०१७ को पर्यटकीय गाउँको रूपमा घोषणा गरेको थियो । ती गाउँ प्रवद्र्धन गर्नका लागि भिटोफले विभिन्न खालका पर्यटकीय अभियान चलाएको थियो ।

घोषणा भएका पर्यटकीय गन्तव्यको संक्षिप्त परिचय

कुन्छाल गाउँ:

मकवानपुर जिल्लाको थाहा नगरपालिका–१ कुन्छाल गााँउमा नेवारी गोपाली जातिहरूको बाहुल्यता रहेको छ । उक्त गाउँमा १ सय ५० घरधुरी रहेका छन् । त्यहाँको ४ घरधुरीमा होमस्टेको सुविधा रहेको छ जहाँ २० देखि २५ जनासम्म पाहुनालाई सुविधा दिन सकिनेछ । होमस्टेमा टाइचिन चामलको खाना, लोकल कुखुराको मासुका साथै सिस्नु, खोले सागको तरकारीको स्वाद लिन सकिन्छ ।

गाउँमा १२ वर्षे नाच र हिले नाचको पनि अवलोकनका साथै दामन र कुलेखानीको भ्रमण गर्न सकिन्छ । २ घन्टा डाँडाको हाइकिङ गरेर अन्नपुर्ण, मनास्लु, धवलागीरी हिमालको दृष्यावलोकन गर्न सकिन्छ । १ रातको १ हजार २ सय रूपैयाँमा बास, बेलुकाको खाना र बिहानको नास्ता पाइन्छ । कुन्छाल गाँउमा काठमाडाैंदेखि नौबिसे हुँदै ६० किलोमिटर तथा दक्षिणकाली, फाखेल, कुलेखानी मार्खु हुँदैै पनि जान सकिन्छ ।

पित्लेक गाउँ:

स्याङ्जाको वालिङ नगरपालिका–५ पित्लेक गाउँमा गुरुङ, मगर, बाहुन, दलित आदि जाति बसोवास गर्छन् । यस गाउँमा ७० घरधुरी छन् । ७ घरमा होमस्टे सुविधा छ । अन्नपुर्ण र धवलागिरीको दृष्यावलोकन गर्न पाइन्छ । पाहुनालाई स्वागतमा कोदोको रक्सीका साथै खानामा लोकल कुखुरा, लोकलमा नै उत्पादित तरकारीका साथै ब्रेकफास्टमा मह, अर्गानिक कफी, रोटी (सेल, कोदोको रोटी) आदि खुवाइन्छ ।

पित्लेकमा १ रातको १ हजार २ सय रूपैयाँमा बास बस्न, बेलुकाको खाना र बिहानको नास्ताको व्यवस्था हुन्छ । पित्लेक पुग्नको लागि काठमाडौंबाट हवाईमार्ग र सडकमार्गमार्फत पोखरा पुग्न सकिन्छ । पोखराबाट स्याङजाको वालिङ हुँदै २ सय ६० किलोमिटर पार गरी पित्लेक पुग्न सकिन्छ ।

सिद्धलेक सलाङ गाउँ

धादिङ जिल्लाको सिद्धलेक गाउँपालिकास्थित सलाङ गाउँमा ७० घरधुरी रहेका मध्ये आमकोटमा १२ घर र मैदानमा १४ मा होमस्टे सुविधा उपलब्ध छ । मगर जातिको बाहुल्यता रहेको यस गाउँमा पाहुनालाई मगर परिकार लोकल कुखुरा, लोकलरूपमा उत्पादित तरकारी, पिना, लोकल रक्सी आदि खुवाइनुका साथै बिहानको नास्तामा गुन्द्रुकको अचारलाई टपरीमा राखेर दिइन्छ ।

मगर नाच देखाइन्छ । सिद्धलेक डाँडाबाट धादिङ जिल्लाको सबै गाउँपालिका र नगरपालिकाहरू देख्न सकिन्छ । साथै मनास्लु, गणेश हिमाल लगायतका हिमालहरूको दृष्यावलोकन गर्न सकिन्छ । १ रातका १ हजार २ सय रूपैयाँमा बेलुकाको खाना बास र बिहानको नास्ता उपलव्ध हुनेछ । काठमाडौदेखि सलाङ पुग्न ७५ किलोमिटर बसको यात्रा गर्न सकिन्छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०