Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

मकवानपुरका गाउँमा अझै गाँजा र अफिम खेती

मकवानपुरको दुर्गम बस्तीमा उर्वर जमिनमा अहिले पनि व्यावसायिक गाँजा र अफिम खेती गर्ने क्रम अझै हटेको छैन । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ र कैलाश गाउँपालिकाको दुर्गम बस्ती अझै पनि गाँजा मौलाइरहेको छ ।

यी दुई गाउँपालिकाको सुगममा गाँजा खेती लगाउने क्रम हटेको छ । दुर्गम र कुनाकाप्चाको जमिनमा अझै पनि गाँजा र अफिम लगाएका छन् । ‘विगतका वर्षहरूको जस्तो गाँजा खेती अहिले छैन,’ कैलाश गाउँपालिका भार्तास्थित विद्यालयका एक शिक्षकले भने, ‘गाँजा र अफिम खेती गर्ने क्रम घट्दै गएको छ ।’  मान्छेको आँखा नपुग्ने, दुर्गम बस्ती र कुनाकाप्चामा गाँजा र अफिम अहिले पनि लगाएका छन् । दुर्गम गाउँहरूमा गाँजा र अफिम खेती लगाएको सूचना पाएपछि प्रहरीको टोली पुगेर फाँड्ने कामगरिरहेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले भदौ र असोजमा गाउँ पुगेर गाँजा र अफिमको ब्याडसहित बोट नष्ट गरेको थियो । सोमबारबाट खटिएको प्रहरी टोलीले राक्सिराङ र कैलाश गाउँपालिकाका विभिन्न स्थानमा मौलाएको गाँजा र अफिमको बोटै नष्टगरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार साँझसम्ममा प्रहरीले २८ बिघा दस कठ्ठा जमिनमा लगाइएको गाँजा र आठ बिघा जग्गामा मौलाएको अफिम खेती नष्ट गरेको छ । प्रहरीले राक्सिराङ गापा ९, टोडे, राक्सिराङ ८, काँकडा र कैलाश गाउँपालिका ४, सर्सी र लिक्चेमा गाँजा र अफिम खेती नष्ट गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाबय उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार उक्त क्षेत्रमा ६० प्रहरी गाँजा र अफिम फँडानी गर्न खटिएका छन् ।

‘त्यस क्षेत्रमा खटिएका प्रहरी तीन समूहमा विभाजन भएर काम गरिरहेका छन् । ‘मकवानपुरलाई गाँजा र अफिम खेतीमुक्त जिल्ला बनाउने अभियानअनुसार नै काम गरिरहेका छौं,’ प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले भने, ‘दोस्रो चरणमा प्रहरीले करिब दुई सय २१ बिघा चार कठ्ठा क्षेत्रमा लगाइएको गाँजा र एक सय सात बिघा जमिनमा लगाइएको अफिम खेती नष्ट गर्नेछन् ।’

अहिले प्रहरीले गाउँमै क्याम्प राखेर गाँजा र अफिम खेती नष्ट गरिरहेको छ । हाल प्रहरी रहेको स्थान मकवानपुर जिल्लाको अत्यन्तै दुर्गम स्थान हो । त्यहाँ पुग्नका लागि सवारी पहुँच नभएको र यातायात मार्गसमेत नरहेको सिंहले बताए । उनका अनुसार प्रहरीले त्यस क्षेत्रमा गाँजा र अफिमको फँडानी र लागूऔषध उत्पादन, बेचबिखन र दुव्र्यसनीबारे जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

स्थानीय तहका प्रतिनिधिहरूले गाँजा फाँड्ने कार्यमा आवश्यकताअनुसारको सहयोग नगरेको गुनासो प्रहरीहरूको छ । राक्सिराङ र कैलाश गाउँपालिकाले आफ्नो गाउँपालिकाभित्र गाँजा र अफिम खेती गर्न नदिने वार्षिक नीति तथा कार्यक्रममा पारित गरेका छन् । गाँजा फँडानी गर्दा प्रहरीले राक्सिराङ–४, टोडेमा भरुवा बन्दुकसमेत फेला पारेका छन् ।

प्रहरी प्रशासन र जिल्ला समन्वय समिति मकवानपुरले गाँजा र अफिममुक्त जिल्ला बनाउन अभियानसमेत चलाएका छन् । दुर्गम गाउँमा मोटरबाटो पुर्‍याउन र तरकारी खेती एवं पशुपालनतर्फ आकर्षित गर्ने योजना ल्याएका कारणले गाँजा र अफिम खेती गर्ने संख्यामा ह्रास आएको छ । गाउँपालिकाले दुर्गम गाउँहरूमा मोटरबाटो पुर्‍याउने योजनाहरू बनाएको छ । मोटरबाटो पुग्नेबित्तिकै लागूऔषधको खेती सदाका लागि बन्द हुने गापाका प्रतिनिधिको दाबी छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०