Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

बाँझो जमिन उपयोगमा ल्याउँदै थाहा नगरपालिका

Thaha-Municipality-1587866731.jpg

मकवानपुरका दुई पालिकाले बाँझो जमिन उपयोगमा ल्याउने भएका छन् । थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिकाले आफ्नो पालिकाभित्र बाँझो रहेका जमिनमा खेती गर्ने भएका हुन् । त्यसका लागि पालिकाहरूले बाँझो जमिनको तथ्यांक संकलन गर्ने काम अन्तिम चरणमा पुर्‍याएका छन् ।

‘कोभिड–१९ का कारण लकडाउन कति लम्बिन्छ र दुई देशको सिमाना कहिलेसम्म बन्द हुन्छ ठेगान छैन,’ थाहा नगरपालिकाका मेयर लवशेर विष्टले भने, ‘यस्तो अवस्थामा कृषि उत्पादनलाई जोड दिनुको विकल्प नभएकाले नगरपालिकाभित्रको बाँझो जमिन उपयोगमा ल्याउन लागेका
हौं ।’ नगरपालिकाले वडा कार्यालयमार्फत धमाधम बाँझो जमिनको लगत लिइरहेको उनले जानकारी दिए ।

बाँझो जमिनमा खेती गर्न नगरपालिकाले अनुदान दिने व्यवस्था गर्न लागेको छ । त्यहाँ उत्पादित खाद्यान्न स्थानीय सहकारी संस्थाले खरिद गर्ने व्यवस्था पनि मिलाएको छ । ‘लकडाउनका कारण काम गर्न नपाएर खान समस्या भएकालाई बाँझो जमिनमा खेती गर्न लगाउने र काम गरेबापत खाद्यान्न उपलब्ध गराउने नीति बनाएका छौं,’ विष्टले भने, ‘राहतलाई उत्पादनसँग जोड्ने प्रयास गरेका छौं ।’

विदेशबाट आएकालाई उनीहरूको सीपअनुसार अनुदान दिएर उत्पादनमूलक काममा लगाउने तयारी पनि नगरपालिकाले गरिरहेको छ । ‘राहत वितरण मात्रले मानिसलाई परनिर्भर बनाउँछ,’ मेयर विष्टले भने, ‘आत्मनिर्भर बनाउने काममा जोड्नुपर्छ ।’हेटौंडा उपमहानगरपालिकासँग जोडिएको मकवानपुरगढी गाउँपालिकाले पनि बाँझो जमिन उपयोगमा ल्याउन कार्यविधि नै पारित गरिसकेको छ । उक्त कार्यविधिलाई लकडाउनको समयदेखि नै कार्यान्वयनमा ल्याउन लागिएको गाउँपालिकाले बताएको छ । यहाँ पनि वडा कार्यालयमार्फत बाँझो जमिनको तथ्यांक संकलन भइरहेको छ । लकडाउनले समस्या पारेका परिवारलाई गाउँपालिकाले राहतस्वरूप खाद्यान्न उपलब्ध गराएको छ । तिनै परिवारलाई गाउँपालिकामा भएका बाँझो जमिनमा खेती गर्न लगाउने विचार गरिएको अध्यक्ष विदुर हुमागार्इंले जानकारी दिए ।

‘अब उनीहरूलाई काम र मामको व्यवस्था गाउँपालिकाले गर्छ, काम नगर्नेलाई राहत दिन्नौं,’ उनले भने । बाँझो जमिनलाई आवश्यक बीउबिजन र मलको व्यवस्था वडा कार्यालयमार्फत गाउँपालिकाले गरिदिने नीति बनाइएको उनले बताए । कोभिड–१९ ले निम्त्याएको संकटले खाद्यान्नमा आत्मनिर्भर बन्ने अवसर जुराएको अध्यक्ष हुमागाईंको भनाइ छ । वाग्मती प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई जोड दिन स्थानीय सरकारसँग आग्रह गरेको छ । साथै बीउबिजन र मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०