Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

फोटोग्राफीमा गणेशको ८ वर्षे यात्रा

73361266_731378017366330_-1572930691.jpg

मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा रहेर फोटोग्राफी गरीरहेका गणेश प्रसाद विष्ट विकासखबर पत्रिकाको फोटो पत्रकार समेत हुन् । पर्यटन विकासमा थाहा नगरको सम्भावनालाई आफ्नो क्यामेरा मार्फत संसार सामु प्रचार गर्नमा विष्ट अहिले अत्यन्तै व्यस्त छन् ।

फोटोग्राफीको आफ्नो इच्छालाई अलिकति पनि कन्ज्युस्याइ नगरी लागिपरेका उनको फोटोग्राफीबाटै जीविका भने पटक्कै चलेको छैन । आम्दानीको आशा फोटोग्रफीबाट नभए पनि आफ्नो लक्ष्य र पर्यटनको विकासमा मनैदेखि लागेको उनको भनाइ छ । विष्टको व्यवसायको कुरा गर्ने हो भने एउटा मोबाइल पसल छ  जहाँबाट उनले आफ्नो खर्च जुटाइरहेका छन् । थाहा नगरपालिका वडा नं ३ शिखरकोटमा रहेको उनको गणेश मोबाइल रिपेयरिङ सेन्टरमा दिनभर काम गर्दै फोटोग्राफीको लागि समेत विभिन्न स्थानमा पुग्न भ्याउछन् उनी । उनले थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका र अन्य राष्ट्रिय स्तरका पर्यटकिय स्थलहरुको भ्रमण गरी सुन्दर, आकर्षक र मनमोहक फोटोहरु विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उनले कैद गरेका सुन्दर पर्यटकिय स्थलहरुको तस्विरलाई भिजिट नेपाल २०२० ले समेत आफ्नो अफिसियल पेजमा स्थान दिएका छन् ।  


    फोटोग्राफीमा रुचि भएपछि वि.सं. २०६८ सालमा नोकियाको सि २ नामक मोबाईलबाट सुरु भएको उनको फोटोग्राफिको यात्रा अहिले निकोन डि ७५०० नामक क्यामेरा सम्म पुगेको छ । उनले अहिले सम्ममा लगभग ३ लाख ५० हजार रुपैयाँ जति फोटोग्राफिमा लगानि गरिसकेको बताए । विष्ट भन्छन्– “अहिलेसम्म धेरै फोटोहरु खिचियो, यत्तिनै भन्ने छैन तर सबैले रुचाएको र कला झल्कियका तस्बिरहरू भने लगभग १००० जति होलान ।” फोटोग्राफीको यात्रा सहज भने छैन । फोटोग्राफीमा भोगेका समस्या र चुनौतीहरु सम्झिँदै विष्ट भन्छन् – “धेरै हिडेर वा धैर्य गरेर कुनै गन्तब्यमा पुगिन्छ, तर मौसमले निरास बनाईदिन्छ, कहिले बादल, टुवाँलो अनि हुस्सु लागेर त्यत्तिकै फर्कनु पर्छ ।”


    चुनौतिको कुरा गर्नु पर्दा  अर्का चुनौति भने लगानिमा छ । आफ्नो क्षमता अनि कनसेप्ट अनुसारको तस्बिर क्यामेरामा कैद हुन नसक्दा चिन्ता लाग्छ ।सबैले भन्ने गर्छन कि क्यामेरा भन्दा धेरै कनसेप्ट अनि भावको आवस्यक्ता पर्दछ, कुरा सहि हो तर आफ्नो आँखाले देखेका कुरा छर्लङ्ग उतार्न सस्तो क्यामेराको क्षमताले पुग्दैन । सस्तो क्यामेराको गति कम हुन्छ, उच्च गतिका फोटो खिच्च महंगो खालको क्यामेराको जरुरत हुन्छ जसले गर्दा अझै क्यामेरामा लगानि गर्ने चाहाना रहेको विष्टले भने ।


क्यामेरा जो केही सँग हुन सक्दछ तर फोटोग्राफीको कला सबैसँग नहुन सक्छ । जस्तोसुकै दृश्यलाई आकर्षक रुपमा प्रस्तुत गर्न सक्ने उनको कलाको अहिले सामाजिक सञ्जाल लगायत विभिन्न ठाउँमा चर्चाको विषय बनेको छ । जुनसुकै कार्यक्रम, पर्वसँग सम्बन्धित, व्यक्तिगत तथा धार्मिक, साँस्कृतिक र वातावरणीय विषय बस्तुसँग सम्बन्धित तस्विरहरु सार्वजनिक हुँदा उनको नाम र कामले अहिले चर्चा पाउन थालेको छ ।  थाहा नगरको पर्यटन विकासमा टेवा पुर्याउन विष्टले गरेको कार्यको थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टले समेत खुलेर प्रसंसा गरेका छन् । नगर प्रमुख विष्ट भन्छन्– “पर्यटन प्रवद्र्धनमा फोटोग्राफीको महत्वपूर्ण भूमिका हुन्छ, पर्यटन विकासका लागि प्रचार प्रसार नै महत्वपूर्ण हुने भएकोले त्यस्तो काम फोटोका माध्यमबाट गर्न सकिन्छ ।” उनले स्वतस्फूर्त रुपमै फोटो पत्रकारिता तथा फोटोग्राफी गर्दै आउनु भएकाहरुलाई अझ नगरको पर्यटन प्रवद्र्धनका काम गर्नका लागि नगरमा प्रस्ताव पेश गरेमा नगरले सहयोग गर्ने बताएका छन् । फोटोग्राफीमा विष्टको ८ वर्षे यात्रा र लगावबाट नयाँ युवा पुस्ता समेत लालायित बनेका छन् ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।