Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ स्वास्थ्य केन्द्रलाई १५ शैथ्याको अस्पताल बनाउने मन्त्रालयको निर्णय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुरका चार वडा स्वास्थ्य केन्द्रलाई १५ शैथ्याको अस्पताल बनाउने निर्णय भएको छ । मकवानपुरको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र थाहा नगरपालिका, छतिवन प्राथमिक स्वास्थ्य केन्द्र बकैया गाउँपालिका, भिमफेदी प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदी गाउँपालिका र  मनहरी प्राथमिक स्वास्थ्य केन्द्र मनहरी गाउँपालिकालाई १५ शैथ्याको अस्पताल बनाउने निर्णय भएको हो । 

पालुङ प्राथमिक स्वासथ्य केन्द्रलाई १५ शैथ्याको अस्पतालको निर्णय भएकोमा नगर प्रमुख लवशेर विष्टले खुशी व्यक्त गरे । उनले अस्पताल बनाउने निर्णय गर्ने तहसम्म पु¥याउनको लागि सहयोग गर्ने सम्पूर्ण निकायलाई धन्यवाद दिएका छन् । 

मन्त्रालयले देशभरका प्राथमिक स्वास्थ्य केन्द्र र केही स्वास्थ्य चौकीसहित २ सय १३ स्वास्थ्य संस्थालाई १५ शैथ्याको अस्पतालमा स्तरोन्तति गर्ने नीतिगत निर्णय गरेको हो ।  देशभरका अहिलेसम्म एक सय ९ स्थानीय तहमा अस्पताल छन् भने ६ सय ४० स्थानमा अस्पताल निर्माण गर्नुपर्ने आवश्यकता छ। मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आगामी पाँच वर्ष सबै स्थानीय तहमा न्यूनतम १५ शैथ्याको अस्पताल निर्माण गर्ने कार्यक्रम अनुसार पहिलो आधार वर्षमा २ सय १३ स्वास्थ्य संस्थालाई स्तरोन्तति गर्ने नीतिगत निर्णय भएको जानकारी दिए ।

उक्त कार्यका लागि नेपाल सरकार र स्थानीय तहको संयुक्त लागत रहने बताइएको छ।  त्यसको सफल कार्यान्वयनका लागि विभिन्न मन्त्रालयहरुसँगको रायपरामर्शपछि कार्य्विधि तयार गरी मन्त्रीपरिषद्मा स्वीकृत लागि पठाइने छ। उक्त व्यवस्थालाई कार्यान्वयन गर्नका लागि प्रदेश तथा स्थानीय तहले आ–आफ्नो क्षेत्रअधिकार भित्रका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलाई १५ र २५ शैथ्यामा स्तरोन्नतिको प्रक्रिया अघि बढाइदिन भन्दै स्वास्थ्य मन्त्रालयमा निवेदन दिएका थिए ।

महाशाखाका अनुसार पाँच वर्षभित्र करिब ६ सय ४० स्थानीय तहहरुमा १५ शैथ्याका अस्पताल निर्माण गर्नुपर्ने छ।  १५ शैथ्याको अस्पताल निर्माण कार्य सम्पन्न गर्न तथा कार्यप्रगतिका आधारमा निर्माणाधीन स्वास्थ्य संस्थाका भवन सम्पन्न गर्न  ७५ करोड बजेट विनियोजन गरिएको छ।