Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

पत्रकार विष्टले विवाहमा हुने खर्च सामाजिक क्षेत्रमा लगाए

मकवानपुर पत्रकार प्रताप विष्टले आफ्नो जेठो छोराको बिहेको अवसरमा हेटौंडाको मानवसेवा आश्रम, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र एकजना चेपाङको प्रतिमा स्थापनाका लागि कुल ७ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । 

बिहे भोजको आयोजना नगरी भोजमा हुने खर्च रकम मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको पुस्तकालय व्यवस्थापनका लागि एक लाख रुपैयाँ र कैलाश गाउँपालिकामा जयपति चेपाङको प्रतिमा स्थापनाका लागि १ लाख रुपैयाँ सहयोग गरेका हुन् । 

हेटौंडा–४ स्थित मानवसेवा आश्रम परिसरमा २१ असारमा एक कार्यक्रमका बीच मानवसेवा आश्रमलाई चेक हस्तान्तरण गरिएको छ । विष्टका जेठा छोरा बिहंगम विष्टको असार १९ गते पोखराकी दुर्गा कार्कीसँग विवाह भएको थियो । पत्रकार समाजको सचेतक मात्रै नभई समाजमा सकारात्मक प्रवृत्ति समेत विकास गर्नुपर्ने समूह भएकोले विहेको अवसरमा भोजको आयोजना गर्दा हुने खर्चलाई सामाजिक सेवाको क्षेत्रमा क्रियाशील संस्थालाई सहयोग गरेको विष्टको भनाइ छ । छोराले पनि भोज गर्नुभन्दा सहयोग गर्नु पर्छ भन्ने भएपछि मेरो मनोवल अझ बढेकोले सहयोग गरेको पत्रकार विष्टले बताए ।