Monday, 19th January, 2026
वि.स.
23...-1768204900.jpg

नवीकरणीय उर्जा तथा प्राङ्गरिक कृषि कार्यक्रमबाट थाहा नगरपालिकाका आदिवासी तथा दलितहरुमा खुशीको लहर

aaaaaaaaaaaaaaaaaaaaaaaaa-1751267174.jpg

मकवानपुरको थाहा नगरपालिका–१ टाखेलकी कृषक समिता थोकर तब दंग परिन् जब उनले खेती गरेको त्यति नै गाँजरको बीउले अरुकोे भन्दा बढी उत्पादन दियो । आफैले बनाएको प्राङ्गरिक मल प्रयोग गरेर उनले १०० ग्राम गाँजरको बीउबाट नमुना खेती शुरु गरेकी थिइन् । गाँजरले बजार पनि राम्रै पायो । 

टाखेलकै एकल महिला साँइली विकको पनि खेतीपाती जीवनयापनको सहयोगी बनेको छ । श्रीमान्को सहारा टुटेपछि घरमा एक्लै बस्दै आएकी साँइलीलाई सरकारले दिने सामाजिक सुरक्षा भत्तामा खेतीको कमाइ पनि थपिएपछि अझै केही गर्छु भन्ने आँट पलाइएको छ । 

थाहा नगरपालिकामा समिता र साँइलीजस्ता एक सय विपन्न जनजाति र दलित महिला अर्गानिक खेतीमा रमाउन थालेका छन् । उनीहरुलाई भरथेग गर्न गैरसरकारी संस्थाको सहयोगमा एक वर्षदेखि नवीकरणीय उर्जा तथा प्राङ्गरिक कृषि कार्यक्रम सञ्चालित छ । संयुक्त राष्ट्र संघ, विश्व वातावरण कोष, साना अनुदान कार्यक्रमको आर्थिक सहयोग तथा सीडेफ नेपालको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमले सकारात्मक नतीजा दिन थालेको छ । 

नवीकरणीय उर्जा तथा प्राङ्गरिक कृषि कार्यक्रमका कार्यक्रम अधिकृत भवानी प्रधानका अनुसार थाहा नगरपालिका वडा नं. १, २ र ७ का आदिवासी जनजाति तथा दलित परिवारका महिलाहरुलाई प्राङ्गरिक खेतीसम्बन्धी तालिम दिइएको छ । उनीहरुले प्राङ्गरिक मल उत्पादन गर्न पनि सिकेका छन् । त्यतिमात्र नभएर कृषकहरुलाई व्यवसायिक तरकारी खेतीका लागि बीउ पनि प्रदान गरिएको थियो । 

टाखेलका समिता र साँइलीले पनि कार्यक्रमबाटै तरकारीको बीउ सहयोग पाएका थिए । प्राङ्गरिक प्रणालीबाट खेती गर्दा के उत्पादन लिन सकिएला र भन्ने लाग्थ्यो उनलाई । तर, जब त्यति नै बीउले रासायनिक मल प्रयोग गर्नेहरुको भन्दा दोब्बर उत्पादन भयो, अनि उनलाई प्राङ्गारिक पद्धतिबाट पनि राम्रै उत्पादन हुन्छ भन्ने विश्वास जाग्यो । ‘३ जना सन्तान अनि म एक्लो, दैनिक जीवन धान्न पनि मुश्किल थियो । संस्थाको सहयोगले आम्दानी बढ्न थालेपछि अहिले परिवार चलाउन सहज भएको छ,’ उनले भनिन् ।

कार्यक्रमअन्तर्गत् थाहाको लक्षित क्षेत्रमा महिलाहरुले कृषक समूह नै गठन गरेर प्राङ्गरिक खेती अभियान चलाएका छन् । थाहा–१ मा पशुपति कृषक समूह, २ मा फेदीगाउँ कृषक समूह र ७ मा शुभारम्भ तथा जनजाति कृषक समूह प्राङ्गरिक खेतीमा क्रियाशील भएको कार्यक्रम अधिकृत प्रधानले जानकारी दिइन् । 

कार्यक्रमअन्तर्गत् प्राङ्गरिक खेतीसँगै लक्षित वर्गका परिवारहरुलाई धुँवारहित विद्युतीय चुलो पनि वितरण गरिएको छ । परम्परागत चुलोका कारण स्वाथ्यमा असर पर्ने भएपछि उनीहरुलाइ निःशुल्क  विद्युतीय चुलो वितरण गरिएको हो । धुवाँरहित चुलोको प्रयोगले दाउरा प्रयोगमा कमी भई दाउरा जम्मा गर्न लाग्ने समय र श्रम खर्चमा समेत कमी आएको प्रयोगकर्ता महिलाहरुले बताएका छन् । 

कार्यक्रम अधिकृत प्रधानका अनुसार थाहाका केही सार्वजनिक स्थानहरुमा सौर्य उर्जा पनि जडान गरिएको छ । 


 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०