Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

दाताको हतारले चामल बितरणमा विवाद 

८० बोरा चामल लिएर मनहरी गाउँपालिका ४ हाँडीखोलास्थित बाढीपीडित बस्ती जान लागेको ट्रेक्टर १३ मंसिर बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।

साउनको अन्तिम सातामा आएको बाढीपहिरो र भूक्षयका कारण जंगलको बीचभागमा त्रिपाल टाँगेर कष्टकर जीवन बिताइरहेका हाँडीखोलाबासीका लागि चिनियाँ नागरिकले चामलको ब्यवस्था गरेका थिए । चीनबाट आएका क्रिश्चियन धर्म समुदायका दम्पत्तिले बाढीपीडितहरुको अबस्था नाजुक देखेपछि मनहरीस्थित एक चर्चका अगुवाहरुको समन्वयमा चामल दिन लागेका थिए । उनीहरु स्वयम्ले नै मनहरीस्थित रिभरसाइडस्थित एक पसलबाट १ सय ६० बोरा चामल खरिद गरी रकम तिरेका थिए । मनहरीस्थित चर्चका अगुवाहरु तथा बाढीपीडितपक्षका चारजना प्रतिनिधि समेत राखेर बितरणका लागि चामल लैजान खोज्दा प्रहरीले नियन्त्रणमा लिएको हो । जुनसुकै संस्थाले सामग्रीहरु बितरण गरे पनि राजनीतिक मुद्दा बनेर विवाद निक्लने भएकाले चुनावअघि सबैखाले कामहरु रोकिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख इन्स्पेक्टर चित्र घलेले बताए । नियन्त्रणमा लिइएको ८० बोरा चामल प्रहरी परिसरमा सुरक्षित राखिएको छ । चुनाव लगत्तै चामल सम्बन्धित पक्षलाई हस्तान्तरण गर्ने उनले बताए । 

चामल बितरणका लागि समन्वय गर्दै आइरहेका सुमन प्रजाले दाताले हतार गरेकाले चामल बितरण गर्न लागिएको बताए । ‘दाता दम्पत्ति चुनावअघि नै चीन फर्कने भएकाले त्यसअघि नै पीडितले खाद्यान्न सामग्री पाऊन् भनेर उनीहरु आफै आएर खरिद समेत गरेर हामीलाई जिम्मा लगाएका थिए ।’, सुमनले भने । तर केही व्यक्तिहरुले आएर अबरोध गरेको र त्यसपछि प्रहरी आएर रोकेको उनले बताए । ‘हामी राजनीतिसँग सम्बन्धित छैनौ, पीडितको सहयोगका लागि सहजीकरण मात्र गरेका हौँ ।’, सुमनले भने–‘अब स्थानीय सरकारसँग मिलेर चुनाबपछि बाँड्ने काम गरिनेछ ।’ आफूले चुनावपछि मात्रै बाँड्नका लागि दातासँग आग्रह गरेपनि दाताले हतार गरेकाले समस्या आएको उनले प्रतिक्रिया दिए । 

परियोजना समापन बैठक

नारी सीप सृजना केन्द्र मकवानपुरले युनिसेफको आर्थिक सहयोग तथा एट्वीनको समन्वयमा सञ्चालन गरेको भूकम्प प्रभावित समुदायको पुनर्लाभ तथा प्रतिरोध क्षमता प्रवद्र्धनका लागि सञ्चार तथा सामाजिक परिचालन परियोजनाको समापन बैठक भएको छ । 

मनहरीस्थित स्रोतकेन्द्रमा भएको बैठकमा सहभागी सहभागीहरुले बिपद्बाट बच्न र मानव बेचबिखनका घटनाहरुबाट सचेत रहनका लागि परियोजनाले प्रभावकारी भूमिका खेलेको बताएका थिए । उनीहरुले परियोजनाको निरन्तरताको कामना गरेका थिए । 

मनहरी गाउँपालिका वडा नं ८ का अध्यक्ष दिलबहादुर स्याङ्तानको अध्यक्षतामा बैठक भएको हो भने विभिन्न युवा क्लव, किशोरकिशोरी समूह तथा बाल क्लवहरुको सहभागिता रहेको परियोजना संयोजक मानबहादुर वाइबाले बताए । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०