Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा नगरपालिका: ४० पद खाली, २६ जनाले सिंगै नगरपालिका धान्दै

Avab-1504837239.jpg

स्थानीय तहको निर्वाचन भएपछि जनप्रतिनिधि आए तर कर्मचारी आएनन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकामा दरवन्दी तोकेको छ तर निर्वाचनको ४ महिना वित्नलाग्दा समेत साविक कर्मचारीभन्दा अन्य थपिएको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पछिल्लोपटक कर्मचारी समायोजन गर्दासमेत थाहा नगरपालिकमा एक जना पनि पठाइएन । अहिले थाहामा नगरकार्यपालिका र वडापालिका गरी ४० पदहरु खाली छन् । नगरकार्यपालिकामा मात्रै १४ जना दरवन्दी खाली रहेको नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए ।

नगरकार्यपालिकामा ३० जनाको दरवन्दी छ । नगरमा ७ नायव सुव्वाको दरवन्दी रहेकोमा एक जना मात्र कार्यरत छन् । त्यस्तै ५ खरिदारमध्ये २ पद खाली छ । नगरकार्यपालिकामा सिविल इन्जिनियरिङतर्फ दरवन्दी अनुसारको कर्मचारी भए पनि आर्किटेक इन्जिनियर र सबइन्जिनियरको पद खाली छ ।

त्यस्तै एक मात्र दरवन्दी रहेको अमिन पनि रिक्त नै छ । वडामा ३ जनाको कर्मचारीमा रहने व्यवस्था भएपनि १२ मध्ये ६ वडामा एक जना पनि कर्मचारी छैनन् । साविक गाविस कर्मचारीहरुबाट काम चलाइएकोमा गाविस केन्द्र भन्दा फरक परेको वडामा पुरै कर्मचारी रिक्त भएको हो । अहिले साविक गाविस चित्लाङ, टिस्टुङ र आग्रामा एक सचिवले दुईवटा वडा हेर्दै आएका छन् । वडामा सुब्बा सरहको एक सचिब, खरिदारसरहको एक लेखा तथा प्रशासन सहायक र एक कार्यालय सहयोगी रहनेगरी कर्मचारी पद निर्धारण गरिएको छ । जसअनुसार हाल १२ वडामध्ये १ जनामात्र सुब्बा सरहका कर्मचारी छन् भने ५ जना खरदारसरहका कर्मचारी छन् । उनीहरुले सचिबको रुपमा काम गर्दै आएका छन् ।

सबै वडामा गरी ३६ जना कर्मचारी हुनुपर्नेमा हाल जम्मा १० जनामात्र कर्मचारी छन् । ६ सचिबहरुमध्ये वडा नं. ३, ४ र ५ एउटै सचिबले हेर्ने गरेका छन् । ३ वटा वडा हेर्नुपर्दा कामको निकै बोझ भएको र विहान देखि बेलुकासम्म वडा कार्यालयकै काममा विताउनु परेको ३ वटै वडा हेर्दै आएका सचिब पाल्साङ लामाले बताए । ३ वटै वडाको कार्यालय शिखरकोटको विकास घरमा रहेको छ। नगरपालिकामा कार्यरत कर्मचारी, स्वीकृत दरबन्दी र रिक्त दरवन्दीको विषयमा नगरकार्यपालिकाले जिल्ला स्थित जिल्ला कर्मचारी व्यवस्थापन समितिमा विवरण पठाइसकेको छ ।

नगरपालिकाका प्रमुख विष्टले यसअघि प्रमुख जिल्ला अधिकारीलाई पटकपटक भेटेर जानकारी गराउँदा ‘जिल्ला तहबाट अहिलेलाई केहीगर्न नसकिने’ जवाफ पाएको बताए । ‘तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा सँग भेट्दा ‘एकपटक ३८ जना कर्मचारी समायोजन गरेर विभिन्न स्थानीय तहमा पठाइयो, अब कुनै कार्यालयबाट कर्मचारी निकालेर स्थानीय तहमा पठाउन सकिने अवस्था छैन, तपाईंहरुको समस्या माथि लेखेर पठाएको छु’ भन्ने जवाफ पाएँ’, विष्टले भने । हालै मकवानपुरमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले जिल्लाको कर्मचारी व्यवस्थापनको विषयमा आफ्नो विशेष चासो भएको बताएका छन् ।