Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिका प्रतिपक्षबिहिन ?

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको केन्द्रीय सहमतिले थाहानगरमा पनि तरङ्ग ल्याइदिएको छ । चुनावी तालमेलसम्मको कुराले त त्यस्तो तरंग पैदा हुनेवाला थिएन । जस्तोकि यसअघिको स्थानीय निर्वाचनमा थाहामा काँग्रेस–माओवादी तालमेलले पनि त्यति हलचल पैदा भएको थिएन । उनीहरुको संयुक्त चुनावी सभासमेत भएन र आआफ्नो ढंगले तर गठबन्धनकै पक्षमा मत मागिएको थियो । 

केन्द्रीय दृष्टिकोण यो वा त्यो जे भएपनि थाहानगरमा पहिलेदेखि नै माओवादीले एमालेलाई हेर्ने समग्र दृष्टिकोण राम्रो थिएन । एमाले पनि माओवादीसँग भन्दा जनमोर्चासँग सहकार्य गर्न बढी रुचाउँथ्यो । गाविसबाट नगरपालिका बनेपछि नगरपालिकाको विकासका एजेण्डाहरुमा पनि यी दुई पार्टीको मत फरक–फरक हुने गरेको थियो । यसो हुनुका पछाडि मुख्य कारण यी दुबै पार्टीका पछाडि एउटा खास जनमत थियो । दुबैको कार्यशैली, स्कुलिङ फरक थियो । पालुङ क्याम्पसको स्ववियु निर्वाचनमा माओवादी, काँग्रेस र जनमोर्चा एकातिर र एमाले र नयाँ शक्ति नेपाल अर्कातिर भएपछि त्यसले पनि माओवादी–एमाले सम्बन्धमा थप चिसो पसेको थियो । 

मुख्य प्रतिष्पर्धामा रहेको माओवादीसँग काँग्रेस पनि मिसिएपछि नगरसभाको चुनावमा एमाले एक्लै लडेको थियो । यसले काँग्रेसलाई हँसिया हथौडामा र माओवादीलाई रुखमा भोट हाल्ने मन नहुँदा नहुँदै पनि एमालेसँगको तिक्तताको कारण सम्भव या वाध्य बनाएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी नेताहरुको टाउकाको मोल तोक्ने बेला थाहानगरका हालका कतिपय माओवादी कार्यकर्ताहरु संयुक्त जनमोर्चा वा जनमोर्चा नेपालमै थिए । त्यसैले सरकारका रुपमा काँग्रेस र लडाकूका रुपमा माओवादी थाहानगरमा आमनेसामने पनि हुनु परेको थिएन । यसले  पनि एमालेको विपक्षमा माओवादी–काग्रेस एक ठाउँमा उभिन खासै समस्या भएको थिएन । त्यसमाथि जिल्ला सर्कुलर त मान्नैप¥यो किनकि स्थानीय तह निर्वाचनमा माओवादीले हेटौंडानगर काँग्रेसलाई छोडिसकेको थियो । अर्कातिर नयाँशक्ति पार्टी बनेपछि केही नेता तथा कार्यकर्ता उतै लागेपछि माओवादी र नयाँशक्ति पार्टीबीच पनि सम्बन्ध समुधुर बन्न सकेको थिएन ।

हाल एकाएक एमाले–माओवादी–नयाँशक्ति पार्टी चुनावी तालमेल मात्र होइन, पार्टी एकताकै पक्षमा सहमतिमा आएर एउटै मञ्चमा उभिएपछि यसले थाहानगरमा एकातिर उनीहरुका नगरभन्दा तल्लो तहका कार्यकर्ता बीच नै एकले अर्कालाई कसरी स्वीकार्ने भन्ने अभिव्यक्ति दिन थालेका छन् । ३ वटै पार्टीका नगरस्तरका नेताहरु भने मौन छन् र आ–आफ्नो पार्टीको केन्द्र र जिल्लाको सर्कुलर कुरेर बसेका छन् । अन्ततः कसैले नचाहेर पनि अब थाहानगरमा समेत यी तीन पार्टीको गठबन्धन त बन्ने नै छ । तर, थाहा नगरपालिकामा जनप्रतिनिधि हेर्दा अब मिल्दै गरेको एमाले–माओवादी र माओवादीसँगै मिलेर जनप्रतिनिधि पाएको काँग्रेसको उपस्थिति रहेकोले लगभग व्यवहारमा थाहानगरपालिका प्रतिपक्षविहिन हुने देखिन्छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)