Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहा–१० मा खानेपानी आयोजनाको शिलान्यास

मकवानपुर थाहा नगरपालिका वडा नं. १० मा संचालन हुने खानेपानी आयोजनाको एक समारोहकाबीच १६ माघमा शिलान्यास गरिएको छ । थाहा नगरपालिकाका मेयर लवशेर विष्टको विशेष उपस्थितीमा खानेपानी आयोजनाको शिलान्यास गरिएको हो । 

शिलान्यास कार्यक्रममा मेयर विष्टका राजनीतिक सल्लाहकार विष्णु विष्ट, थाहा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष हिरा बहादुर गमाल, सदस्य रामकृष्ण गमाल, दिपक गोपाली, पानमाया विश्वकर्मा, वडा सचिव सरिता वि.सी. कृषि प्राविधिक कमला सुवेदी, स्थानीय रमेश थापा, कुलचन्द्र अर्याललगायतका स्थानीय उपभोक्ताहरुको उल्लेख्य  उपस्थिती रहेको थियो । 

खानेपानी आयोजनाको ब्रम्हाणहरुबाट पुजा गरेर शिलान्यास गरिएको थियो । शिलान्याससंगै थाहा नगरपालिका वडा नं. १० का बासिन्दा पनि गाउँमा खानेपानी आयोजना संचालन हुने भएपछि खुशी भएका छन् । १० नम्बर वडामा सामुदायिक विकास केन्द्र नेपाल (सिसिडिएन)ले आयोजना संचालनको लागि सहयोग गरेको छ । ६ सय ८८ धारा निर्माण गर्ने योजना सहित थाहा–१० बृहत्त खानेपानी आयोजना संचालन हुन लागेको सिसिडिएनका कार्यक्रम संयोजक सन्तोष ढकालले जानकारी दिए । 

सिसिडिएनले २ करोड ५६ लाख रुपियाँ लागतमा खानेपानी आयोजना संचालन गर्न लागेको हो । आयोजनाले वडा नं. १० का सबै बासिन्दाहरुलाई समेट्ने वडा अध्यक्ष हिरा बहादुर गमालले प्रतिक्रिया दिए । वि.सं. २०७२ सालको विनासकारी भूकम्पपछि थाहा–१० मा खानेपानीको हाहाकार हुँदै आएको थियो । आयोजनाको १० प्रतिशत रकम स्थानीय तहले व्यहोर्ने योजना अनुसार वडा कार्यालयबाट १५ लाख रुपियाँ विनियोजन गरिएको छ । खानेपानीका लागि थाहा–१० विसिङ्खेलको धाराचौरमा बोरिङ गरी खानेपानी वितरण गरिनेछ । अब निर्माण हुने धाराहरुमा मिटर जडान गरिने वडा कार्यालयले जनाएको छ ।