Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगर प्रमुख लवशेर विष्टले उद्घाटन गरे ‘स्मार्ट सिटि’

‘स्मार्ट सिटि, स्मार्ट सिटि’ यो भनाइ धेरैको मुखैमा झुण्डिएको छ । त्यसो त नेपाल संघीय संरचनामा गएसंगै यो शब्दको चर्चा असाध्यै हुन थालेको छ । निर्वाचन ताका धेरै उमेद्वारले चुनावी एजेण्डा नै बनाए–‘मैले जिते भने स्मार्ट सिटि बनाउँछु ।’ तर स्मार्ट सिटि बनाउँदा कस्तो र के के पूर्वाधार चाहिन्छ भन्ने आधार आश्वासन बाँड्ने उमेद्वार नै प्रष्टै थिएनन् । नागरिक सामु स्मार्ट सिटिको बाचा गरेका र विजयी भएकाहरुले समेत स्मार्ट सिटिको योजना बनाएको खबर समेत सार्वजनिक नहुँदै स्मार्ट सिटि नै उद्घाटन भएको छ । २९ फागुनमा मकवानपुर थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्टले रिबन काटेर स्मार्ट सिटिको उद्घाटन गरेका हुन् । नगर प्रमुख विष्टले साँच्चिकैको स्मार्ट सिटि उद्घाटन गरेका भने होइनन् । विष्टले भिमफेदी गाउँपालिका–९ मा रहेको लेकाली बसिफाँट माविका विद्यार्थीहरुले बनाएका नमुना स्मार्ट सिटिको उद्घाटन गरेका हुन् । रजत जयन्तीको अवसरमा विद्यार्थीहरुले स्मार्ट सिटि बनाएर प्रदर्शनी गरिरहेका छन् । लेकाली बसिफाँट माविको रजत जयन्तीको अवसरमा विद्यार्थीहरुले गरेको प्रदर्शनी मध्ये स्मार्ट सिटिले सबै अतिथीहरुको ध्यान तानेको छ । 

विद्यालयको मिसुजु हलमा विज्ञान विषयका शिक्षकहरु दुर्गा प्रसाद बानतोला र संजय गुप्ताको संयोजनमा बालबालिकाहरुले स्मार्ट सिटि बनाएका हुन् । स्मार्ट सिटिमा बालबालिकाहरुले शहरमा हुनुपर्ने पूर्वाधारको भरपूर कल्पना गरेका छन् । झ्वास्स कल्पना गर्न नसकिएको शहर देख्ने वित्तिकै जो कोही पनि दंग पर्दछन् । स्मार्ट सिटि पस्ने ठूलो गेट बनाइएको छ । गेटमै अंग्रेजीमा ‘वेल कम टु स्मार्ट सिटि’ लेखिएको छ । स्मार्ट सिटि प्रवेश गर्ने फराकिलो गेट बनाइएको छ । स्मार्ट सिटिमा व्यवस्थित बस्ती बनाइएको छ । खानेपानी, सरसफाई, ढकाल निकासलाई व्यवस्थित देखाइएको छ । सडक चौडा छ । ठाउँठाउँमा जेब्राक्रसिङ बनाएर सडक यातायातलाई व्यवस्थित बनाइएको छ । आकाशे पुल मार्फत निरन्तर विद्युतीय रेल गुडिरहेको दृश्य देख्न सकिन्छ । सिटिको ठाउँठाउँमा बनाइएको बगैचाले थप आकर्षक देखिएको छ । 

स्मार्ट सिटिमा सुरक्षालाई असाध्यै ध्यान दिइएको छ । सिटिका चोकहरुमा सुरक्षाकर्मीको उपस्थितीले यो स्पष्टै देखिन्छ । सिटिमा होटल व्यवस्थापन तथा करेसाबारीको समेत कल्पना गरिएको छ । यो दृश्ले विद्यालयको रजत जयन्तीमा उपस्थित भएका सबै अतिथी र सहभागी विद्यार्थीहरुको ध्यान तानेको छ । उपस्थित अतिथीहरुले ‘स्मार्ट सिटि’ अवलोकन गर्न छुटाउँदै छुटाउँदैनन् । शिक्षकहरुको संयोजन र विद्यार्थीको कल्पनाले उपस्थित जनप्रतिनीधि र नेतृत्वकर्ताहरुलाई साँच्चै स्मार्ट सिटिको विषयमा सोच्न बाध्य बनाइको छ । 

यसैबीच विद्यालयको मिसुजु हलमा विद्यार्थीहरु आफैले बनाएका विभिन्न चित्रहरु प्रदर्शनी गरिएको छ । चित्रकलाको संयोजन शिक्षक सुशीला भुजेलले गरेकी हुन् । चित्रकला मार्फत बालबालिकाको मनोभावना र उनीहरुको कलालाई उतार्ने प्रयास भएको शिक्षक भुजेलले बताइन् । विज्ञान समाग्री प्रदर्शनीलगायतले हल आकर्षक बनाइएको छ । 

लेकाली बसिफाँट माविले २८ फागुनदेखि शुरु गरेको रजन जयन्ती समारोहलाई तीन दिनसम्म मनाउँदै छ । ३० फागुनमा समापन हुने समारोहलाई भव्य र सभ्य बनाउनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद लामाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समारोहलाई सम्पन्न गर्नका लागि विद्यालयका शिक्षकहरुको भूमिकाप्रति प्रधानाध्यापक लड्डुलाल मण्डलले खुशी व्यक्त गरे । कार्यक्रममा अतिथिहरुलाई स्वागत र सम्मान गर्न पाएकोमा विद्यालयले आभार व्यक्त गरेको प्रधानाध्यापक मण्डलले बताए । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०