Wednesday, 27th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा पर्यटकीय गन्तव्य नै गन्तव्य

नेपाल भ्रमण वर्ष सफल बनाउनको लागि थाहा नगरपालिकाले विशेष योजना अघि सारेको छ । जिल्ला तथा  केन्द्रस्तरमा जस्तै थाहानगरले आफ्नो नगरको पहिचान हुने गरी विभिन्न पर्यटकीय गन्तव्य घोषणा गरेको छ । नेपाल भ्रमण वर्ष शुभारम्भको अवसरमा १६ पौषमा नगरपालिकाले प्रत्येक वडाबाट कम्तिमा पाँचवटा पर्यटकीय गन्तव्यसहित विभिन्न ६२ वटा गन्तव्य घोषणा गरेको  नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । 

थाहा नगरपालिकाको वडा नम्बर ६ र ९ बाट ६/६ वटा र बाँकी १० वटा वडाबाट ५/५ वटा पर्यटकीय गन्तव्यसहित ६२ घोषणा गरिएको हो । नगरमा पर्यटकलाई आकर्षित गर्नको लागि विभिन्न ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नको लागि प्रत्येक वडाबाट पर्यटकीय गन्तव्यको घोषणा गरिएको मेयर विष्टले जानकारी दिए । घोषणा गरिएको कतिपय पर्यटकीय गन्तव्य पहिलेदेखिकै चर्चित ठाउँहरु रहेका छन् भने कतिपय ठाउँहरु सरप्राइज गन्तव्य रहेका छन् । 

थाहा नगरपालिका वडा नम्बर १ को पाँच गन्तव्य मध्ये कुन्छाल गाउँ पर्यटकीय गाउँको विशेषता सहित घोषणा गरिएको छ भने अन्य धार्मिक तथा पिकनिक स्पट र भ्यूप्वाइन्टको विशेषता रहेको वडा अध्यक्ष हेरमान गोपालीले बताए । वडा नम्बर २ का वडा अध्यक्ष गुप्त बहादुर कार्कीका अनुसार घोषणा गरिएका पाँच पर्यटकीय गन्तव्यहरुमा अधिकांश धार्मिक र ऐतिहाँसिक पर्यटकीय रहेको छ । वडा नम्बर ३ को पर्यटकीय गन्तव्यहरुमा पाँचवटै पर्यटकीय गन्तव्य धार्मिक स्थलहरु रहेको अध्यक्ष राजेश केसीले जानकारी दिए ।  विश्वका तीन शंखमूल मध्येको एउटा शंखमूल समेत यसै वडामा रहेको छ । वडा नम्बर ४ लाई भने वडा अध्यक्ष दिपकसिं लामाले पार्क र दृश्यावलोकन तथा धार्मिक पर्यटकीय गन्तव्यका दृष्टिकोणले चिनाउने प्रयास गरेका छन् । थाहानगर पर्यटन विकास समितिका संयोजक समेत रहेका लामाले वडालाई पर्यटकीय वडाका रुपमा विकास गर्ने लक्ष्य लिएका छन् । थाहा स्मारक पार्क समेत यसै वडामा निर्माण थालिएको छ । 

थाहा नगरपालिकाको वडा नम्बर ५ लाई वडा अध्यक्ष विष्णु बहादुर गुरुङ आफ्नो वडामा ट्रेकिङ तथा साइक्लिङ रुट सहितको पाँच पर्यटकीय गन्तव्य छनोट गरेका छन् । वडाका विभिन्न गाउँमा झाँक्री नाच समेत प्रदर्शन गरी पर्यटक आकर्षित गर्न सकिने बताउँदै विभिन्न भ्यू प्वाइन्टहरु पनि उनले वडाको पर्यटकीय गन्तव्यमा राखेका छन् । ६ नम्बर वडाले अरु वडा भन्दा एउटा बढि गरेर ६ वटा पर्यटकीय गन्तव्य घोषणा गरेको छ । ६ नम्बर वडा अध्यक्ष शशीधर सुवेदीले दृश्यावलोकन तथा ऐतिहाँसिक सहित अधिकांश पर्यटकीय गन्तव्यहरु धार्मिकलाई छनोट गरेका छन् । विभिन्न नेवारी संस्कृति र परम्परा समेत रहेको यस वडाले पर्यटकलाई आकर्षित गर्न ६ वटा पर्यटकीय गन्तव्यहरु घोषणा गरेको छ । धेरैजसो तामाङ जातिको बसोबास रहेको वडा नम्बर ७ का अध्यक्ष सनमसिं मुक्तानले आफ्नो वडामामा केही भ्यू प्वायन्ट सहित अधिकांश धार्मिक पर्यटकीय क्षेत्रको गन्तव्य घोषणा गरेका छन् । नगरपालिकालाई पर्यटकीय गन्तव्य घोषणाका लागि पठाएको विवरणमा अधिकांश धार्मिक क्षेत्रको सूची अध्यक्ष मुक्तानले पठाएका हुन् । 

वडा नम्बर ८ वडामा रहेको विशाल खानीखोला गुफासहित धार्मिक र भ्यू प्वाइन्टसहितको पर्यटकीय गन्तव्यलाइृ प्रवद्र्धनका लागि अघि सारिएको वडा अध्यक्ष टिकाराम मुक्तानले जानकारी दिए ।  प्रदेश सरकारले प्रदेशभरीमा १० वटा हिल स्टेशन मध्ये एउटा बन्न लागेको वडा नम्बर ९ ले भने ६ वटा पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने योजना बनाएको छ । वडाले ऐतिहाँसिकतालाई संरक्षण प्रवद्र्धन गर्ने उद्देश्य सहित अधिकांश ऐतिहाँसिक कुराहरुलाई पर्यटकीय गन्तव्यको रुपका विकास गर्ने योजना बनाएको अध्यक्ष परशुराम श्रेष्ठले बताए । वडा नम्बर १० वडा अध्यक्ष हिराबहादुर गमालका अनुसार वडामा कृषि पर्यटकीय गन्तव्यसहित अधिकांश धार्मिक पर्यटकीय गन्तव्यको रुपमा प्रद्र्धन गरिने छ । यस वडाको केही भागमा बाख्र्रा विकास फार्मको रमणीय चौर तथा दक्षिण एशियामै चित्लाङमा मात्र पाइने अल्पका जनावर हेर्न ओलिभ फर्म समेत रहेको छ । वडा नम्बर ११ मा भने चिया बगानको काम शुरु भएको चिया बगान, प्रसिद्ध नर्बेढुङ्गा, खुकुरी ढुङ्गालगायतलाई पर्यटकको मन लोभ्याउने गन्तव्यको रुपमा अघि सारिएको छ । त्यस्तै रमणीय पिकनिक स्पट तथा भ्यू प्वाइन्टहरुसहित ऐतिहाँसिक ठाउँलाई प्रवद्र्धन गर्ने गरी पर्यटकीय गन्तव्य तयार गरिएको अध्यक्ष किरणमान बलले जानकारी दिए । तामाङ जातिको बाहुल्यता रहेको थाहा–१२ का वडा अध्यक्ष मान बहादुर लामाले मगर होमस्टे, प्याराग्लाइडिङ, दृश्यावलोकनका लागि भ्यूप्वाइन्ट सहितको पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने गरी भ्रमण वर्षका लागि गन्तव्य निर्धारण गरेका छन् । 

थाहा नगरपालिका क्षेत्रमा घोषणा भएका ६२ वटै पर्यटकीय गन्तव्यलाई साँच्चिकै पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि नगरपालिकाले पहल गर्ने उपप्रमुख खड्ग गोपालीले बताए । यसका साथै भारतीय पर्यटकलाई थाहा नगरसम्म भित्र्याउनको लागि नगरकै गरौबको योजनाका रुपमा भिमफेदी सिमभन्ज्याङ केवलकारको योजनालाई समेत अघि बढाउने उनको भनाई छ । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०