nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरमा धेरैले ‘थाहा’ नपाएको ठूलोकोट र सानोकोट
कुमार नेगी

thulokot-1-copy-1647249583.jpg

थाहानगरको खासगरी पालुङ क्षेत्रमा कोटथुम्की बढी चर्चामा छ । कोटथुम्कीलाई कोट अर्थात् किल्लाको अर्थमा धेरैले अथ्र्याउने गर्दछन् । यसका ऐतिहासिक प्रमाणहरु पनि फेला परेका छन् । किल्लाकै अर्थमा पालुङ क्षेत्रमा चारवटा किल्लाहरु रहेको पाको उमेरका व्यक्तिहरुको भनाइ छ  । ती चार कोटहरु कोटथुम्की, कुइभिर, आकासदेवी र गोलमोड पारी डाँडा हुन् भन्ने गाउँघरमा सुनिन्छ । यी कोटहरुकै बारेमा पनि थप खोज–अध्ययन जरुरी छ ।

थाहाकै मुख्य बजारको रुपमा रहेको शिखरकोटलाई भने स्थानीयबासीले किल्लाको रुपमा चर्चा गर्दैनन् । शिखरगोठबाट अपभ्रंश भएर शिखरकोट हुन गएकोमा धेरैको मत रहेको छ ।

यहाँ चर्चा गर्न लागिएको कोटभने माथि उल्लेखित कोटहरुभन्दा अन्य दुई कोटहरु हुन् जुन ठूलोकोट र सोनोकोटको नामले चिनिन्छन् । यी दुई कोटहरु थाहा नगरपालिकाको वडा नम्बर ४ मा पर्दछन् । किटेनी र रुप्से गाउँको बीचमा पर्ने यीँ दुई कोटहरु ऐतिहासिक हुन् भन्नेमा दुईमत छैन । 

स्थानीय क्षेत्रमा नयाँ पुस्तालाई ठूलोकोट र सानोकोटका बारेमा खासै जानकारी नभए पनि केही पाका पुस्ता भने यी दुई कोटबारे जानकार भेटिएका छन् । रुप्सेनजिकै रहेको चारैतिर राम्ररी नियाल्न सकिने थुम्कालाई किटेनीका पाका पुस्ताले अहिले पनि ठूलोकोट भनेर चिन्दछन् । सो थुम्कामा हाल रानी तथा गोब्रे सल्लाका रुखहरु छन् भने केही गुराँस, काफल, मयल र घँघारुका बोटहरु छन् । थुम्कामै पुगेर हेर्दा पुराना पाकेका इटाका टुक्राहरु भेटिन्छन् ।

सानोकोट भने किटेनीतर्फ नै रहेको छ । त्यहाँ भने इटाका टुक्राहरु भेटिएका छैनन् । इटाका टुक्राहरु भेटिएका ठूलोकोटको ऐतिहासिक तथ्य के हो भन्ने बारे भने स्थानीयलाई पनि जानकारी छैन । स्थानीयहरुका अनुसार थुम्कामा पहिले धेरै इट्टाका टुक्राहरु थिए र कालन्तरमा चोरी भए । अहिले भने एकादुई मात्र भेटिन्छन् । उत्खनन् गरेमा इट्टासहित थुप्रै ऐतिहासिक बस्तुहरु पनि फेला पर्न सक्छ ।

थुम्कामा पुगेर चारैतिर हेर्दा के अनुमान गर्न सकिन्छ भने माथि मुखबोलीमा भनिएझैँ कोटथुम्की, आकासदेवी, कुइभिर आदि कोटहरु निर्माणताका नै यी दुई कोटहरु पनि अस्तित्वमा हुनुपुर्दछ । ठूलोकोटबाट नाङ्गै आँखाले ओखरबजार, गहते, कुन्छाल, बज्रवाराही, चनवन, पालुङ क्षेत्र, कोटथुम्की, दामन डाँडा, रुप्से, फुर्के, बसन्त लगायत चारैतिर देखिने हुनाले यो थुम्कामा दरवारको रुपमा वा सुरक्षार्थ निर्मित किल्लाको रुपमा कोट रहेको हुनसक्छ । यो कोट कुन राज्य अन्तर्गत् थियो ? किटेनी बस्तीको ऐतिहासिकता के हो ? यस्ता विषयहरु रहस्यमै सीमित छन् ।

कोट मूलतः राज्यको सीमा–सुरक्षानिमित्त बनाइएको किल्ला हो । यसबाहेक उच्च चुचुरोमा रहेको स्थलविशेष पनि हो कोट । यसको अर्थ राष्ट्रको सुरक्षा गर्नु, शहर बसाउनु भनेर कौटिल्यको अर्थशास्त्र तथा मनुस्मृतिमा उल्लेख छ । त्यस्तै, राष्ट्रको सुरक्षाका लागि निर्मित किल्ला वा कोट अत्यावश्यक उपकरण पनि हो ।

राष्ट्रको सबलता र व्यवस्थित सुरक्षाका निम्ति लिच्छविकालमा कोट्ट (कोट) का रूपमा कोट बनाइएको इतिहास पाइन्छ । बाइसे–चौबीसे राज्यकालमा कोटहरुको प्रचलन धेरै विस्तार भए । त्यस समयमा तत्कालीन भुरे टाकुरे राजाहरू बैरीबाट संरक्षित हुन आफ्नो मूलथलो (राजधानी)का पहाडको समुचित टाकुरो छानी त्यहीं ठाउँ ‘कोट’मा राजदरबार–गढी बनाउने परम्परा निकै चलेको इतिहास भेटिन्छ ।

थाहाको ४ नम्बर वडामा भेटिएका कोटहरुको ऐतिहासिक सन्दर्भ के हो भन्ने खोतल्न सके धेरै राम्रो हुन्छ । त्यति सम्भव भएन भने पनि यी दुई कोटलाई स्थानीय वडा कार्यालय वा स्थानीय सरकारले विशेष संरक्षण गरेर राख्न सके थाहामा अर्को पर्यटकीय गन्तव्य बन्न सक्छ । अहिले संरक्षण गर्न सके भविष्यमा ऐतिहासिक रहस्यहरु खुल्दै जाने सम्भावना पनि उत्तिकै रहन्छ । 









Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg