Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा ज्येष्ठ नागरिक हेरचाह केन्द्र खुल्ने

मकवानपुरको उत्तरी क्षेत्रस्थित प्रशिद्ध पाण्डुकेश्वर मन्दिर परिसरमा उत्तरी मकवानपुरमै पहिलोपटक जेष्ठ नागरिकहरुका लागि दिवा हेरचाह केन्द्र स्थापना हुने भएको छ । लायन्स क्लब अफ काठमाण्डु समर्पणले उत्तरी मकवानपुरमै पहिलोपटक पाण्डुकेश्वर मन्दिर परिसरमा ज्येष्ठ नागरिकहरुका लागि दिवा हेरचाह केन्द्र स्थापना गर्न लागेको हो ।

‘वृद्धवृद्धाको दैनिक जीवन सहज होस् भन्ने उद्धेश्यले डे केयर सञ्चालन गर्न सहयोग गर्न लागेका हौं,’ २५ कार्तिकमा आफ्नो जम्बो टोलीसहित पाण्डुकेश्वर क्षेत्रमा आएका लायन्स क्लब अफ काठमाण्डु समर्पणका अध्यक्ष अभिताभ अग्रवालले भने । स्थानीय निर्वाचन अघि थाहा नगरपालिका दलीय संयन्त्रका सदस्य एवम् समाजसेवी अच्युतमप्रसाद ढकालको समन्वय र सम्पर्कमा लायन्स क्लब अफ काठमाण्डु समर्पणको टोली शनिबार पाण्डुकेश्वर क्षेत्रमा आएको हो । टोलीमा रहेका लायन्स क्लब अफ काठमाण्डु समर्पणका पूर्व अध्यक्ष एवम् सिनियर एहोजी तथा क्लस्टर हेड महेन्द्रकुमार राठीले पाण्डुकेश्वर परिसरमा हालको भवनमा दोस्रो तला थपेर वृद्धवृद्धाहरुको लागि ‘डे केयर सेन्टर’ सञ्चालन गर्न लागेको बताए । डे केयर सेन्टरका लागि विशेष पहल गरिरहेका समाजसेवी अच्युतमप्रसाद ढकालले लायन्स क्लब अफ काठमाण्डौं समर्पणले वृद्धाश्रम र उनीहरुको हेरचाह केन्द्रको सम्पूर्ण व्यवस्थापन गर्ने बताए ।

‘वृद्धवृद्धाहरुको लागि स्याहारसुसार व्यवस्था, भोजन, मनोरन्जन तथा अन्य आवश्यक व्यवस्था उनीहरुले नै गर्नेछन्,’ उनले भने । लायन्स क्लब अफ काठमाण्डौं समर्पणले बुधबार पाण्डुकेश्वरमा आयोजित एक कार्यक्रममा थाहानगरमा वृद्धवृद्धाहरुको लागि सहयोग गर्ने घोषणा गर्नुका साथै प्रतिवद्धतासमेत व्यक्त गरेको थियो । पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल ठकुरीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका वडा नं. २ का वडाअध्यक्ष गुप्तबहादुर कार्की, समाजसेवी अच्युतमप्रसाद ढकाल, लक्ष्मण विष्ट, नेपाल राष्ट्रिय भ्रतपूर्व सैनिक संगठन मकवानपुरका अध्यक्ष कमल कुमार केसी, लायन्स क्लब अफ पिस थाहाका जनसम्पर्क अधिकृत कुमार नेगी, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, लायन्स क्लब अफ काठमाण्डौं समर्पणका पूर्व अध्यक्षहरु प्रविणकुमार बन्का, संजय शिंहानिया, दिलिप अग्रवाल लगायतको आतिथ्यता रहेको थियो । शनिबार आयोजित कार्यक्रमको अवसरमा उक्त संस्थाले थाहानगरका विपन्न र असहाय परिवारका बालबालिकालाई स्टेशनरी सहयोग गर्नुका साथै वृद्धवृद्धाहरुलाई न्यानो कपडासमेत वितरण गरेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०