Thursday, 28th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

थाहानगरमा आलु रोप्‍ने चटारो

मकवानपुरको थाहा नगरपालिकाका प्रायः किसान आलु रोप्न व्यस्त छन् । महिला–पुरुष दिनभर बारीमै खटिएका हुन्छन् । पुरुष खनजोत र महिला डोकोमा गाईभैंसीको मल बोक्न व्यस्त छन् । उनीहरूले रासायनिकभन्दा प्रांगारिक मल प्रयोग गरिरहेका छन् । रासायनिक मलले माटो पनि बिगार्ने र आलु पनि खनेपछि चाँडै कुहिने भएकाले प्रांगारिक मल प्रयोग गर्नुपरेको उनीहरू बताउँछन् ।

‘थाहा नगरपालिकाको १२ वटै वडाका बासिन्दा अहिले आलु रोप्ने काममा व्यस्त छन्,’ नगरपालिकाका कृषि विकास अधिकृत सञ्जय तिवारीले भने, ‘अहिले गाउँमा कसैलाई बोल्ने फुर्सदसम्म छैन ।’ स्थानीयले वर्षौंदेखि आलु खेती गरिरहेका छन् । आलु रोप्ने ड्याङ ६० सेन्टिमिटरको फरकमा बनाउँछन् भने २५ सेन्टिमिटरको दूरीमा आलु रोप्छन् । ‘आलु खेती गर्न यहाँका बासिन्दा सामान्य प्राविधिकसरह ज्ञान राख्छन्,’ तिवारीले भने, ‘रोगका विषयमा कम जानकारी छ भने विषादी प्रयोगबारे पनि थोरै मात्र ज्ञान छ, अब त सबै सिकिसकेका छन्, आलु खेतीमा रासायनिक मल र विषादी प्रयोग गर्न हुन्न भन्ने कुरा जानकारी भइसकेको छ ।’

आलुलगायत तरकारी खेतीमा यस क्षेत्रका बासिन्दाले रासायनिक मल र विषादीको प्रयोग घटाएका छन् । ‘प्रयोग गर्नुपरे पनि कृषि प्राविधिकसँग सल्लाह लिने गरेका छन्,’ तिवारीले भने । किसानले अहिले कार्डिनल, डेजुरे, खुमल रातो, जनकदेव र कुखुरे ज्योति जातका आलुका बीउ लगाउने गरेका छन् ।

माघ दोस्रो सातादेखि आलु रोप्न सुरु हुन्छ । फागुन पहिलो सातासम्म आलु रोपेर सकिने किसानले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०